काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सले चीनमा उत्पादन गरेको नयाँ इलेक्ट्रीक एसयूभी किया ईभी ५ नेपाल आइपुगेको छ ।
नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले ल्याएको किया ईभी ५ वीरगञ्ज भन्सार आइपुगेको हो ।
कम्पनीका डाइरेक्टर आशिस पौड्यालले किया ईभी ५ को डेमो युनिट वीरगञ्ज आइपुगेको जानकारी दिए । उनका अनुसार किया ईभी ५ भन्सार जाँचपासको प्रक्रियामा रहेको छ ।
कम्पनीले किया ईभी ५ आगामी साउन २१ गतेदेखि आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने योजना बनाएको छ ।

कियाको मिडसाइज क्रसओभर एसयूभी सन् २०२३ मा लन्च भएको थियो । कियाले पछिल्लो सयमका ईभी मोडलहरू ईभी ६ र ईभी ९ पछि ईभी ५ लन्च गरेको थियो । चीनमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको कियाको ईभी ५ पहिलो मोडल हो ।
कियाको अपोजिट युनाइटेड डिजाइन ल्याङ्वेजमा बनेको यो एसयूभीको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १७१५ एमएम र २७५० एमएमको ह्वीलबेस रहेको छ ।
अहिले डेमो भेहिकलको रूपमा ल्याइएको किया ईभी ५ मा १६० किलोवाटको मोटर छ । यसमा ६०.३ को एनएमसी र ६४.२ किलोवाट आवरको बीवाइडीको एलएफपी ब्लेडब्याट्रीको अप्सन रहेको छ । नेपाली बजारमा बिक्री प्रयोजनाका लागि भने किया ईभी ५ ९९ किलोवाटको मोटरमा आउने सम्भावना रहेको छ ।

किया ईभी ५ मा १२.३ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको टच स्क्रीन कनेक्टेड इन्फोटेन्मेन्ट डिस्प्लेका साथै तेस्रो स्क्रीनको रूपमा ५ इन्चको क्लाइमेट कन्ट्रोल टचस्क्रीन प्यानल रहेको छ ।
किया ईभी ५ एसयूभीमा वे पावर ड्राइभर सिट, ४वे पवार फ्रन्ट प्यासेन्जर सिट, प्याडल सिफ्टर, वायरलेस एपल कारप्ले तथा एण्डरोइड अटो, डिउलजोन क्लाइमेट कन्ट्रोल, हिटेड भेन्टिलेटेड फ्रन्टसिट, भीटुएल इन्टेरियर सकेट, १ इन्चको अलोय ह्वील आदि फिचर रहेको छ ।
कियाले ईभी५ को क्याबिनमा सस्टेनेबल मेटेरियल प्रयोग गरेको दाबी गरेको छ । यसमा रिसाइकल प्लास्टिक, प्लाण्टबेस लेदरको प्रयोगले ईभी ५ लाई इको फ्रेण्डली स्ट्रिट क्रिड बनाएको छ ।
सुरक्षाको लागि किया ईभी ५ मा ७ वटा एयरब्याग, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट असिस्ट, लेनकिप असिस्ट, डाइनामिक गाइडलाइन सहितको रियर क्यामरा, रियर अकुपेन्ट अलर्ट लगायत सुरक्षा फिचर दिएको छ ।
किया ईभी ५ ले नेपाली बजारमा बीवाइडी एटो थ्री, लीपमोटर सी १०, प्रोटोन इमास ७ लगायत मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
हाल कम्पनीले किया ईभी ५ को मूल्य बारे केही नबताए पनि बजारमा यसको मूल्य प्रतिस्पधी हुने अनुमान छन् ।

