किया नेपालको वेभसाइटमा देखियो ‘इभी-६’

काठमाडौं । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ आफ्नो वेभसाइटमा नयाँ इलेक्ट्रीक कार इभी-६ लिष्टिङ गरेको छ । कम्पनीले ‘चाँडै आउँदैछ’ लेखेर इभी-६ लाई ‘किया डट कम डट एनपी’मा लिष्टिङ गरेको हो ।

कियाको बहुचर्चित इलेक्ट्रीक एसयूभी इभी-६ यही मार्च महिनामा नेपाल आउने भनिए पनि विविध कारणले थप केही समय लाग्ने भएको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

रातो गोलो भित्र इभी ६ देख्न सकिन्छ ।

हुन्डाई मोटर ग्रुपको ‘इ-जीएमपी’ (इलेक्ट्रीक-ग्लोबल मोडुलर प्लेटफर्म) मा बनेको यो क्रसओभर उत्कृष्ट पर्फमेन्स, फ्रिडम र भविष्य उन्मुख डिजाइनको लागि प्रसिद्ध बनिसकेको छ । कियाले इभी-६ लाई विशेषत युवा लक्षित डिजाइनमा ल्याएको छ । यसमा १९ इन्चको अलोय ह्वील, १२.३ इन्चको कर्भि ड्राइभर इन्फर्मेशन डिस्प्ले र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

किया कनेक्ट (यूभिओ) फिचरको साथ उपलब्ध हुने इभी-६ बाट कुनै अर्को साधन चार्ज गर्न परेपनि सकिन्छ । त्यसको लागि ३.६ किलोवाटको चार्जर दिइएको छ । चालकलाई सहज होस् भनेर कारमा वायरलेस फोन चार्जर, एडप्टीभ ड्राइभिङ बीम सहितकोड्यूल एलइडी हेडल्याम्प, चालक र अगाडिको प्यासेन्जरको लागि प्रिमियम रेग्जीनको सिट जस्ता फिचर दिएको छ ।

कियाले इभी-६ मा निकै ठूलो व्याट्री दिएको छ । यसको जिटी लाइन भेरियन्टमा ७७.४ किलोवाट आवरको व्याट्री दिएको छ । यसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

निकै पावर फुल २३९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको यो कारलाई ३५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लगाउने छ ।

कियाले इभी-६ लाई उत्कृष्ट बनाउन अटोमेटीक डिफग सिस्टम, इलेक्ट्रीक पावर विन्डो, अटो डिमिङ रियर भ्यू मिरर, ड्यूल जोन अटोमेटीक एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिटेड सिट, हिटेड स्टेरिङ ह्वील, स्मार्ट क्रुज कन्ट्रोल, प्याडल सिफ्टर, फरक ड्राइभ मोड, टिल्ट र टेलिस्कोपीक एड्जस्टेवल स्टेरिङ ह्वील जस्ता फिचर प्रदान गरेको छ ।

इभी-६ मा सुरक्षाको लागि एबीएस, ड्राइभर एटेन्सन वार्निङ, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, हाइवे ड्राइभ एसिस्ट, इन्टेलिजेन्ट स्पीड लिमिट, टायर प्रेसर मोनिटर, मल्टी कोलुजन ब्रेक एसिस्ट जस्ता उपयोगी फिचर पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्यको विषयमा कुनै जानकारी नदिएको भएपनि करिब १ करोड १० लाख हाराहारी मूल्य कायम गरेर विक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top