काठमाडौं । उच्च इन्धन मूल्य, बढ्दो ब्याजदर र बीमा खर्चका बाबजुद दक्षिण कोरियाली गाडी निर्माता कम्पनी भारतमा आफ्नो योजनाहरुलाई लिएर प्रतिवद्ध एवं आत्मविश्वासी देखिन्छ ।
किया मोटर्स इन्डियाका प्रबन्ध निर्देशक कोक्युन सिम आफ्नो कम्पनीले भारतमा प्रत्येक ६–६ महिनामा नयाँ गाडी सार्वजनिक गर्ने बताउँछन् । वार्षिक ३ लाख यूनिट उत्पादन क्षमताको प्लान्टको पूर्ण उपयोगका लागि पनि हरेक ६ महिनामा एउटा नयाँ मोडल ल्याउनु पर्ने उनको तर्क छ ।
भारतमा ब्यवसायलाई लिएर कियाको जोश त पूर्व निर्धारित समयभन्दा अगावै प्लान्टको निर्माण सम्पन्न गर्नुले नै प्रमाणित गर्छ ।
कम्पनीका अनुसार झण्डै ३ सय वटा रोबोटहरु प्रेस, बडी पेन्ट जस्ता कामहरुका लागि प्रयोग गरिएका छन् ।
दक्षिण कोरियाली गाडी निर्माता कम्पनी किया मोटर्सले भारतको आन्द्र प्रदेशमा आफ्नो ब्रान्डको ट्रायल उत्पादन शुरु गरिसकेको छ ।
आन्द्र प्रदेशका मानिसहरु कसरी यति छिटो यत्रो प्लान्टको निर्माण सम्पन्न भयो भनेर आश्चर्य चकित भएको बताउँछन् ।
उत्पादनको कुरा त अर्कै पाटो भैहाल्यो । फेरी ब्यवसाय भनेको कारखाना निर्माणको कुरा मात्र पनि त होइन । कार ब्यवसाय आधारभुत रुपमा बिक्री वितरणको ब्यवसाय हो ।

त्यसका लागि कम्पनी भारतभर सेल्स र सर्भिस सेन्टरहरुको बिस्तारमा तिब्र गतिमा लागिसकेको छ ।
‘हाम्रो उद्देश्य भनेको नै छोटो समयमा धेरै भन्दा धेरै गाडी बिक्री गर्नु हो । त्यसैले हाम्रो बिक्री र सर्भिस स्टेशनको बिस्तार पनि त्यही दिशामा अघि बढिरहेको छ । यो निकै फराकिलो र गहिरो सञ्जाल हुनेछ,’ कियाको भारतका लागि सेल्स एण्ड मार्केटिङ हेड, मनोहर भाटले भनेका छन् ।
कियाले भारतमा १ अर्ब डलरको लगानीमा उत्पादन प्लान्ट खोलेको हो । उक्त प्लान्टमा बार्षिक ३ लाख गाडी उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।
प्लान्टमा अत्याधुनिक प्रविधिहरु प्रयोग गरिएको छ । कम्पनीका अनुसार झण्डै ३ सय वटा रोबोटहरु प्रेस, बडी पेन्ट जस्ता कामहरुका लागि प्रयोग गरिएका छन् ।
कियाले भारतमा ‘एसपी २ आई’ कन्सेप्टको एसयुभी बजारमा ल्याउने तयारी गरेको छ । यो एसयुभीको रेनो डस्टर, मारुती सुजुकी एस क्रस, हुण्डाई क्रेटा जस्ता गाडीहरुसँग सिधा प्रतिस्पर्धा हुने कम्पनीले अनुमान गरेको छ । भाटका अनुसार उक्त गाडीको मुल्य ९ लाख भारु देखी १६ लाख भारुसम्म हुनेछ ।
भबिष्यमा ग्राहकहरुको आवश्यकता र चाहना बुझेर २५ मध्येका जुनसुकै मोडलमा पनि काम गर्न सकिने कम्पनीले जनाएको छ ।
एसयूभी भारतमा तिब्र गतिमा बढिरहेको सेग्मेन्ट हो । कियाले यही अवसर छोप्न खोजेको भाट बताउँछन् । उनका अनुसार त्यसको लागि मूल्य महत्वपूर्ण हुन्छ । भारतमा अटो क्षेत्र आगामी १० बर्षसम्म कम्तीमा १० प्रतिशतले वृद्धि हुँदै जाने अनुमान गरिएको छ ।
कियाले भारतमा केही कर छुट र लगानीमा केही सहयोग पनि पाएको छ । तर, गाडीको मूल्यमा प्रभाव पार्ने मुल कुरा भनेको कच्चा पर्दाथको मूल्य नै हो । त्यसैले कियाले स्थानीय कच्चा पदार्थको प्रयोगलाई नै जोड दिने भएको छ ।

कम्पनीका अनुसार उनीहरु भारतीय ग्राहकहरुलाई केही फरक स्वाद दिन चाहन्छन् । आपुर्तीकर्ताहरुसँग मिलेर ‘सिर्नजी’ सृजना गरेर हुन्डाई वा अन्य गाडी जस्तै बनाउनु भन्दा पनि उनीहरु आफ्नै केही विकास गर्न चाहन्छन् ।
कियाले भारतमा तत्कालै ह्याचब्याकको योजना भने. नभएको बताएको छ । कम्पनीका अनुसार उनीहरुको बिश्वब्यापी रुपमा २५ मोडल लाइनमा छन् । भारतमा भने उनीहरुको प्राथमिकता एसयुभी मै हुनेछ ।
तर, भबिष्यमा ग्राहकहरुको आवश्यकता र चाहना बुझेर २५ मध्येका जुनसुकै मोडलमा पनि काम गर्न सकिने कम्पनीले जनाएको छ ।
भारतको बजारमा मुख्यत १२ ब्रान्डले बर्चश्व बनाएका छन् । यो कियाको लागि ‘सर्भाइभल गेम’ पनि हो । फेरी भारतीय ग्राहकहरु मूल्यलाई लिएर निकै सचेत छन् ।
‘यो निकै गाह्रो गृहकार्य हो । तर, पनि हामी मूल्यको यो खेल खेल्न सक्षम छौं’, कम्पनी स्रोतले बताउँदै आएको छ ।
नेपालमा कस्तो असर ?
नेपाली बजारमा कियाका उत्पादन विगत २५ वर्षदेखि बिक्री वितरण भइरहेको छ । कन्टिनेन्टल्स ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा दक्षिण कोरियाली उत्पादन भएका कियाका गाडी ल्याएर बिक्री वितरण गर्दै आएको छ ।
अब भारतीय बजारमा उत्पादन सुरु भएसँगै नेपाली बजारमा पनि भारत मेड कियाका गाडी आउने छन् । यी गाडी नेपाली बजारमा आएसँगै बजारमा हुन्डाई, सुजुकी, रेनो, निशानलगायतका ब्रान्डसँग कडा प्रतिस्पर्धा हुनेछ ।
यसको प्रत्यक्ष फाईदा नेपाली बजारमा चाँडो नयाँ नयाँ मोडलका गाडीहरु आउने छन् भने स्पेयर पाटर्सको उपलब्धता पहिला भन्दा चाँडो र सस्तो हुनेछ ।
कियाका गाडी मन पराउने ग्राहकले कम मूल्यमा नै भारतमा बनेका एसयूभी चढ्न पाउने छन् ।

