विरगञ्ज आइपुग्यो किया निरो इलेक्ट्रीक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । कियाले नेपाल ल्याउन लागेको निरो विरगञ्ज आइपुगेको छ । कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले दक्षिण कोरियाबाट ल्याएको निरो विरगञ्ज आइपुगेको हो । 

पछिल्लो समय इलेक्ट्रीक गाडीमा उपभोक्ता र सरकारको आर्कषण बढ्दै गएकाले कम्पनीले सर्वाधिक माइलेज दिने इलेक्ट्रीक कार ल्याउन लागेको हो । सरकारले डिजेल/पेट्रोल कारको बिक्रीमा कडाई गर्ने नीति तथा इलेक्ट्रीक कारमा कर छुट र सवारी कर्जा सहज बनाएकाले इलेक्ट्रीक कारको आयात बढेको छ । 

कन्टिनेन्टलले यसअघि किया सोल इलेक्ट्रीक कार नेपाली बजारमा बिक्री गर्दै आएको थियो । सोलबाट राम्रो प्रतिकृया पाएको कम्पनीले कोरियाबाट निरो ल्याएको हो । 

कम्पनीले सुरुमा ८५ वटा गाडी अर्डर गरेको भएपनि करिब १०० युनिटको बुकिङ लिइएको कम्पनीले जनाएको छ । किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा रहेको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ । साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ । 

कोरियामा उत्पादिन किया निरो नेपाली बजारमा अबको एक/दुई सातामा बिक्री सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले किया निरोको सुरुवाति मूल्य ६७ लाख ९० हजार रुपैयाँ तोकेर बुकिङ लिएको छ । 


Back_to_top