बजारमा नआउँदै ‘किया सोनेट’ चर्चामा, यस्ता हुने छन् मुख्य ५ फिचर

काठमाडौं । किया मोटर्स इन्डियाले किया सोनेट सब फोर मिटर एसयूभीको टिजर सार्वजनिक गरेको छ । किया सोनेटले सब फोर मिटर एसयूभी सेग्मेन्टमा आफ्नो बोल्ड डिजाइनको कारण धेरै युवाको मन जित्ने अनुमान गरिएको छ ।

सोनेट कियाले भारतमा उत्पादन गर्ने दोस्रो मोडल हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो, जुन नेपालमा पनि बिक्री वितरण हुँदै आएको छ । सोनेट कियाको ग्लोबल मोडल हो । ‘द पावर टू सरप्राइज’ स्लोगनका साथ आउन लागेको सोनेट नेपालमा पनि आउने पक्का छ ।

यसले बजारमा हुन्डाई भेन्यू, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ । यस्तोमा सोनेटमा रहने मुख्य ५ फिचर यसप्रकार रहने छन् ।

१. सेग्मेन्टमै ठूलो इन्फोटेन्टमेन्ट सिस्टमः किया सोनेटमा किया सेल्टोसको जस्तै १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइने छ । यो सेग्मेन्टकै सबैभन्दा ठूलो हो । यसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोट गर्ने छ ।

२. बोसको साउन्ड सिस्टमः किया सोनेटमा बोसको साउन्ड सिस्टम रहने छ । यसको साथै, कियाको यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रीक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेशन डिस्प्ले, पुस बटम स्टार्ट÷स्टप जस्ता फिचर उपलब्ध रहेको छ ।

३. डिजेल अटोमेटिकः कियाले यसमा ६ स्पीड टर्क कन्भटर सहितको अटोमेटिक डिजेल इन्जिन दिने जनाएको छ । यसलाई कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चार्ज्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको साथ बजारमा ल्याउने छ । टर्बो इन्जिनमा डियूल क्लच अटोमेटिक गियरबक्स समेत यसमा उपलब्ध रहने छ ।

४. इटेलिजेन्ट म्यानुयल ट्रान्समिशनः केही दिनअघि हुन्डाईले भेन्यूमा दिएको इटेलिजेन्ट म्यानुयल ट्रान्समिशन (आईएमटी) इन्जिन यसमा उपलब्ध रहने छ । उक्त गियरबक्स १.२ लिटर पेट्रोल इन्जिनमा रहने छ ।

५. कियाको सबैभन्दा सस्तो एसयूभीः किया मोटर्सको सबैभन्दा सस्तो एसयूभीको रुपमा यो बजारमा आउने छ । नेपाली बजारमा यसको मूल्य हुन्डाई भेन्यूको बराबर नै हुने अनुमान गरिएको छ ।


Back_to_top