नेपालमा निसान, किया र टाटालाई एसयूभीको साथ, यी हुन् ‘गेम चेन्जर’ मोडल

काठमाडौं । नेपाली बजारमा विगत लामो समयदेखि विक्री हुँदै आएका निसान, किया र टाटालाई प्यासेन्जर भेहिकल सेग्मेन्टमा एसयूभीले स्थापित गरेको छ । निसानले यसअघि जापानबाट गाडी आयात गरेर विक्री गर्दै आएकोमा पछिल्लो दशकमा भारतीय उत्पादन आउन थालेसँगै संख्यात्मक विक्रीमा फड्को मारेको हो ।

दुगर्ड समूहले करिब ३० वर्ष नेपालमा निसानका कारहरु विक्री वितरण गरेको थियो । दुगर्डले संख्यात्मक रुपमा गाडी विक्री गर्न नसकेको भन्दै कम्पनीले ३० वर्ष पुरानो डिलरलाई हटाएर पायोनियर मोटोकर्पलाई नेपालको आधिकारीक वितरक नियुक्त गरेसँगै भारतीय उत्पान नेपाल आउन थालेको हो ।

उसोत कियाले एक वर्ष अघिसम्म कोरियाबाट गाडी आयात गरेर विक्री गर्दै आएको थियो । नेपालमा कन्टिनेन्टल्स ट्रेडिङले करिब २७ वर्षदेखि कियाका उत्पादन विक्री वितरण गर्दै आएको छ । अघिल्लो वर्षबाट भारतीय उत्पादन नेपाल आउन थालेसँगै कियाको संख्यात्मक विक्री पनि बढ्दै गएको हो ।

टाटाले प्यासेन्जर कारमा ठूलो लगानी सहित दुई दशक अघिबाट कार उत्पादन गरिरहेको छ । नेपालमा सिप्रदी ट्रेडिङले टाटाका सवारी साधन विक्री वितरण गर्दै आएको छ । यस क्रममा टाटाले विश्वकै सबैभन्दा सस्तो कार नानोदेखि हेग्जासम्मको उत्पादन विक्री गर्यो । तर, कम्पनीले देखिने गरि सफलता सब फोर मिटर एसयूभीबाट हासिल गरिरहेको छ ।

कियाको सफलतामा सेल्टोस

पछिल्लो समय कियाको सफलतामा सेल्टोस एसयूभीको सबैभन्दा ठूलो भूमिका रहेको देखिन्छ । किया सेल्टोसको २ पेट्रोल र ५ डिजेल भेरियन्ट गरि अहिले ७ भेरियन्टको विक्री वितरण हुँदै आएको छ ।

कम्पनीले सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ७६ लाख ९० हजार रुपैयाँसम्म तोकेर विक्री वितरण गरिरहेको छ ।

किया सेल्टोसमा ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन लगाइएको छ । सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोड जस्ता विशेषता रहेका छन् ।

यसमा १७ इन्चको अलोय ह्वील, स्टाइलिस एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प जस्ता फिचर रहेका छन् । इन्जिनको कुरा गर्दा सेल्टोसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

निसानको सर्वाधिक सफल मोडल किक्स

सन् २०१९ को सुरुवातमा नै भारतमा विक्री सुरु भएको निसान किक्स नेपाल २०१९ फेब्रुअरीमा आएको थियो । भारतमा सोचे अनुसारको सफलता हासिल गर्न नसकेको निसान किक्स भने नेपालमा गेमचेन्जर मोडल बन्न सफल भयो ।

‘द इन्टेलिजन्ट एसयूभी’ एसयूभी स्लोगनको साथ किक्सलाई कम्पनीले बजारमा ल्याएको थियो । डिजेलमा ३ भेरियन्ट र पेट्रोलमा २ भेरियन्टसहित किक्स नेपाली बजारमा ५ भेरियन्टमा सार्वजनिक भएको थियो । तर, अहिले कम्पनीसँग डिजेल इन्जिनमा मात्रै किक्स उपलब्ध रहेको छ ।

 

कम्पनीले किक्समा डिजेल र पेट्रोल दुबै भेरियन्टमा १.५ लिटरको इन्जिन दिएको छ । यसमा दिइएको १४९८ सीसी क्षमताको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।

निसानले किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, इबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट दिएको छ । यसको टप भेरियन्टमा साइड एयरव्याग, ईएसपी र हिल स्टार्ट असिस्ट, ३६० डिग्री क्यामरा जस्ता फिचर रहेको छ ।

अहिले किक्स ४८ लाख ९९ हजारदेखि ६५ लाख २५ हजारसम्मको मूल्यमा किन्न सकिन्छ ।

टाटको गेमचेन्जर नेक्सन

सब फोर मिटर एसयूभी सेग्मेन्टमा आएको टाटा नेक्सन सिप्रदीको लागि ठूलो गेमचेन्जर सावित भयो । सुरक्षाको हिसावले उत्कृष्ट रहेको नेक्सन ग्लोवल क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएसँगै यसको लोकप्रियता झनै बढ्दै गएको छ ।

टाटा नेक्सनमा १.२ लिटर टर्बो इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा १०८ बीएच पावर र १७५० आरपीएममा १७० एनएम टर्क प्रदान गर्ने छ । नेक्सनमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

टाटा नेक्सनमा सुरक्षाको लागि एबीएस, ब्रेक एसिस्ट, सेन्ट्रल लकिङ, पावर डोर लक, चाइल्ड सेफ्टी लक, एयरव्याग जस्ता फिचर रहेका छन् । नेक्सनमा सेगमेन्ट फर्स्ट फिचरको रुपमा तीन वटा ड्राइभिङ मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवस्यकता अनुसर इको, सिटी र स्पोर्टस् मोडमा यो एसयूभी चलाउन सक्ने छन् ।

मनोरजन र सुचनाको लागि ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एड्जस्टेवल स्टेरिङ, अटोमेटिक क्लामेट कन्ट्रोल, अटोमेटिक स्टार्ट/स्टप बटम जस्ता फिचरले नेक्सनलाई उत्कृष्ट एसयूभी बनाएको छ ।

टाटा नेक्सनको मूल्य ३८ लाख ५५ हजारदेखि ४८ लाख ९९ हजार रुपैयाँसम्म कायम गरेर बिक्री वितरण हुँदै आएको छ ।


Back_to_top