ड्यूक १२५ लाई टक्कर दिन नेपाल आउला सिबी १२५

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कम सीसीमा उत्कृष्ट मोटरसाइकल बनाउने होड नै चलिरहेको छ । यस्तोमा कति मोटरसाइकल नेपाल आएका छन् भने कति मोडल नेपाल ल्याइएको छैन ।

सन् २०२० को अन्त्यमा नै केटीएमले ड्यूक १२५ को नयाँ फेसलिफ्ट मोडल बजारमा उतारेको छ भने होन्डाले पनि आफ्नो १२५ सीसी सेग्मेन्टमा रहेको सिबी १२५ लाई अपग्रेड गरेको छ ।

केटीएम ड्यूक १२५ अघिल्लो वर्षको नाडा अटो शो २०१९ बाट नेपालमा विक्री सुरु भएको हो । अहिले यो सेगमेन्टमा यसलाई सिधा टक्कर दिने अर्को मोटरसाइकल छैन । यस्तोमा केटीएम ड्यूक १२५ लाई टक्कर दिन होन्डा सिबी १२५ नेपाल आउन सक्नेछ ।

मुख्यतः साना सीसीको मोटरसाइकलमा ग्राहकले धेरै रकम खर्च गर्दैनन् भन्ने मान्यातालाई ड्यूक १२५, यामाहा आर १५ भी थ्रि, एमटी १५ लगायतका मोडलले गलत सावित गरिसकेका छन् । यस्तोमा होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले सिबी १२५ नेपाल ल्याउने सम्भावना धेरै रहेको छ ।

ड्यूक १२५ मा हेग्जागोनल हेडल्याम्प दिइएको छ भने सिबी १२५ मा गोलो हेडल्याम्पलाई एलइडी डेटाइम रनिङ लाइटले घेरेको छ । दुबै मोटरसाइकलको अधिकतम पावर क्षमता पनि उस्तै रहेको छ । होन्डा सिबी १२५ मा रहेको इन्जिनले १४.९६ पीएस पावर प्रदान गर्छ भने ड्यूक १२५ मा रहेको इन्जिनले १४.५ पीएस पावर प्रदान गर्छ ।

दुबै मोटरसाइकलमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, दुबै चक्कामा डिस्क ब्रेक, एबीएस जस्ता फिचरले भरिएका छन् । ड्यूक १२५ मा अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ भने होन्डा सिबी १२५ को अगाडि २९६ र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ ।

अहिले नेपाली बजारमा ४ लाख ४९ हजार मूल्यमा ड्यूक १२५ विक्री भइरहेको छ भने होन्डाले मोटरसाइकल नेपाल ल्याउने हो भने ४ लाख ५० हजार हाराहारी मूल्य पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top