काठमाडौं । सन् २०२५ लीपमोटरको लागि उत्कृष्ट देखियो । कम्पनीले यसवर्ष ५ लाख युनिट कार बिक्री गर्ने लक्ष्य लिएकोमा ११ महिनामा नै उक्त लक्ष्य पूरा गर्न सफल भएको हो ।
जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा कम्पनीले ५ लाख ३६ हजार १३२ युनिट कार बिक्री गरिसकेको छ । चीनमा बढ्दो प्रतिस्पर्धा र युरोपमा लीपमोटरको माग वृद्धि हुँदा उसको बिक्रीमा उछाल आएको हो ।
कम्पनीले अघिल्लो वर्षको नोभेम्बरसम्मको तुलनामा यस वर्ष ११३.४२ प्रतिशतले बिक्री बढाएको छ । युरोपियन साझेदार स्टेलान्टिस ग्रुपको प्रवेशसँगै लीपमोटर निकै आक्रमक बजार विस्तारमा देखिएको हो ।
चीनमा कम मूल्यमा उत्कृष्ट कार बिक्री गर्ने ब्राण्डको रूपमा लीपमोटरको चर्चा सुरू भइसकेको छ । त्यसको सिधा फाइदा कम्पनीले निरन्तर बिक्री बढाएर पाइरहेको छ ।
नोभेम्बरमा कुन स्टार्टअप कम्पनीको बिक्री कति ?
चीनमा न्यू इनर्जी भेहिकल उत्पादनमा थुप्रै स्टार्टअप ब्राण्ड छन् । ती ब्राण्ड मध्ये सबैभन्दा अगाडि लीपमोटर छ । उसले नोभेम्बरमा ७० हजार ३२७ युनिट कार बिक्री गरेको हो ।
दोस्रो स्थानमा जिकर ग्रुप रहेको छ । जिकर ग्रुपले ६३ हजार ९०२ युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको जनाएको छ । तेस्रोमा साओमी ब्राण्ड परेको छ । उसले ४० हजार युनिट कार बिक्री गरेको हो ।
त्यसैगरी, एक्सपेङले ३६ हजार ७२८ युनिट, नियोले ३६ हजार २७५ युनिट र लि अटोले ३३ हजार १८१ युनिट कार बिक्री गरेको जनाएका छन् । यी सबै स्टार्टअप कम्पनीहरू औसत बिक्रीमा छन् ।
सबैभन्दा धेरै ईभी बिक्री गर्ने बीवाइडीले सन् २०२५ कै सबैभन्दा धेरै ४ लाख ८० हजार १८६ युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ ।
बीवाइडीलाई पछ्याइरहेको जिलीले ३ लाख १० हजार ४२८ युनिट कार बेचेको हो ।

