काठमाडौं । सन् २०२५ को अन्तिम डिसेम्बर महिनामा आधा दर्जन नयाँ मोडल लन्च हुने भएको छ । भारतीय बजारमा बिक्री सुरू हुने नयाँ मोडल नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुनेछ ।
आज (डिसेम्बर २) सुजुकीले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी ई-भिटारा लन्च गर्दैछ । उसोत युरोपमा राम्रो संख्यामा निर्यात भइसकेको ई-भिटारा भारतमा भने डिसेम्बर २ तारिखमा लन्च गर्ने घोषणा भएको थियो ।
सुजुकीले बनाएको पहिलो इलेक्ट्रीक मोडल भएको कारण नै यसले राम्रो चर्चा पाएको हो । यसअघि भदौ पहिलो साता काठमाडौंमा भएको नाडा अटो शो २०२५ मा पनि ई-भिटारा प्रदर्शन गरिएको थियो । भारतमा बिक्री सुरू हुने बित्तिकै ई-भिटारा नेपाल पनि आउने छ ।
सुजुकीले ई-भिटारालाई दुई ब्याट्री अप्सन र मोटर अप्सनमा ल्याउने छ । टप भेरियन्ट अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध हुने अनुमान गरिएको छ । कम्पनीले ४९ र ६१ किलोवाट आवरको ब्याट्रीमा यसलाई बजारमा उतार्ने छ ।

टाटा मोटर्सले आफ्नो दुई एसयूभी ह्यारीयर र सफारीलाई पेट्रोल इन्जिनमा लन्च गर्दैछ । कम्पनीले आगामी ९ डिसेम्बरको दिन पेट्रोल इन्जिनमा दुई मोडल लन्च गर्न लागेको हो ।
नेपालमा पनि डिजेल इन्जिनमा उपलब्ध दुवै एसयूभी पेट्रोलमा आएसँगै थप बलियो हुने अनुमान गर्न सकिन्छ । कम्पनीले ह्यारीयर र सफारी दुवै एसयूभीमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिएर ल्याउन लागेको हो । यसको पावर १६० पीएस र पीकटर्क २५५ न्यूटन मिटर रहने छ ।
किया मोटर्स इन्डियाले डिसेम्बर १० तारिखमा नयाँ जेनेरेसन सेल्टोस बिक्री सुरू गर्दैछ । दुई वर्षदेखि नयाँ जेनेरेसन सेल्टोसमा काम गर्दै आएको कियाले थप स्पोर्टी, फिचर लोडेड र आकर्षक लक्समा सेल्टोस तयार पारेको छ ।

एमजी मोटर्स इन्डियाले आफ्नो हेक्टर एसयूभीको फेसलिफ्ट मोडल बिक्री थाल्ने भएको छ । कम्पनीले डिसेम्बर तेस्रो साता बजारमा ल्याउन लागेको हो । १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजेल इनिजनमा आउने हेक्टर थप आकर्षक लुक्समा आउने अनुमान गर्न सकिन्छ ।
भारतमा यसअघि नै बुकिङ खुला भएको मिनी कुपर कन्भर्टेबल मोडल डिसेम्बर अन्तिमबाट बिक्री सुरू हुनेछ । दुई ढोका भएको कन्भर्टेबल ह्याचब्याकमा २.० लिटर, फोर सिलिण्डर, पेट्रोल इन्जिन छ ।
मिनी कुपरको कन्भर्टेबल कार भने नेपाल आउने छैन । त्यो बाहेक अन्य सबै मोडल माग अनुसार नेपाल आउने छन् । सबैभन्दा पहिला भने सुजुकीको ई-भिटारा नेपाली बजारमा आउने कुरामा दुईमत छैन ।

