काठमाडौं । सरकारले मोटर पावर अनुसार कर लगाएको कारण कम मूल्यमा गाडी बेच्न धेरै कम्पनीले मोटर पावर घटाएर ल्याएका छन् । तर, लीपमोटरको सी-१० र प्रोटोन इमास-७ दुवै एसयूभी १६० किलोवाट पीकपावर भएको मोटरमा उपलब्ध छ ।
मूल्यका हिसाबले पनि यी दुवै एसयूभीमा ठूलो अन्तर छैन । साथै, साइजका आधारमा व्याख्या गर्दा पनि यी दुवै एसयूभी लगभग उस्तै छन् । यस्तोमा यी दुई मध्ये कुनै एक एसयूभी किन्छु भन्नेका लागि तुलनात्मक विश्लेषण उपयुक्त हुन सक्छ ।
यी दुई एसयूभीमा समानता भनेको दुवै चीनमा उत्पादन भएका हुन् । तर, नेपाल भने एउटालाई युरोपियन ब्राण्ड र अर्कोलाई मलेसियन ब्राण्डले ल्याएको हो । लीपमोटरको सी-१० मा स्टेलान्टिस समूह मार्फत साँग्रिला मोटर्सले नेपाल ल्याएको हो । प्रोटोन इमास-७ चिनियाँ उत्पादन जिलीले उत्पादन गरेको मोडल हो । यसलाई केबल प्रोटोनको ब्याचमा जगदम्बा मोटर्सले नेपाल ल्याएको हो ।
साइज
लीपमोटरको सी-१० को लम्बाइ ४७३९ एमएम, चौडाइ १९०० एमएम, उचाइ १६८० एमएम छ । यसमा २८२५ एमएम लामो ह्वीलबेस दिइएको छ । ग्राउण्ड क्लियरेन्सको नजरबाट हेर्ने हो भने यसमा १९० एमएम अग्लो पाउन सकिन्छ । सी-१० एसयूभीमा ४३५ लिटरको बुटस्पेश छ । २० इन्चको ह्वीलले यसलाई निकै आकर्षक देखिन्छ ।

त्यसैगरी प्रोटोन इमास-७ को लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम, उचाइ १६७० एमएम छ । जुन सी-१० भन्दा केही होचो र केही छोटो छ । फराकिलो भने दुवै उस्तै छ । यसमा ह्वीलवेस २७५० एमएम लामो छ । जुन सी-१० भन्दा ७५ एमएम छोटो छ । इमास-७ मा १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र ४६१ लिटरको बुटस्पेश छ । इमास-७ मा बुट स्पेस ठूलो छ । ह्वील भने १९ इन्चको पाउन सकिन्छ ।
ब्याट्री साइज
मोटर साइज दुवैमा एउटै १६० किलोवाट क्षमताको छ । यी दुवै मोटरको पावर २१५ हर्स पावर र ३२० न्यूटन मिटरको टर्क छ । लीपमोटरको सी१० मा ६९.९ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । यसले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई अधिकतम ८४ किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।
प्रोटोन इमास-७ को प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको लेटेस्ट डिजाइनको एजिज सर्ट ब्लेड ब्याट्री दिइएको छ । यसलाई १०० किलोवाटको डीसी फास्ट चार्जरले २० मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
हाइडेन्सीटी ब्लेड ब्याट्रीले एक पटकको फुलचार्जमा ४१० किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
क्याबिन फिचर
प्रोटोन इमास-७ मा १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, हेडअप डिस्प्ले, पानारोमिक सनरुफ, वायरलेस फोन चार्जर पाउन सकिन्छ । मल्टिफङ्सनल एन्टीव्याक्टेरियल स्टेरिङ ह्वील, अटोमेटिक एयर कन्डिसन, पावर टेलगेट, भेन्टीलेटेड फ्रन्ट सिट, लेदरेट एण्ड सिक्स वे इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट दिइएको छ ।
यसका अलावा फोर वे इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट प्यासेन्जर सिट, २५६ कलरको एम्बियन्ट लाइट, स्पीकर सहितको ड्राइभर हेड रेस्ट, फ्लस डोर ह्याण्डल, टु स्पोक मल्टिफङ्सनल स्टेरिङ ह्वील, १६ स्पीकर सहितको साउण्ड सिस्टम, भीटुएल र भीटुभी सुविधा उपलब्ध गराएको छ ।
त्यसैगरी, लीपमोटरको सी-१० मा १४.६ इन्चको इन्फोटेन्मेन्ट स्कृन, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, दुईवटा वायर लेस फोन चार्जर, ड्यूल जोन एसी, १२ वटा हाइ क्वालिटी स्पीकर सहितको साउण्ड सिस्टम पाउन सकिन्छ ।

म्युजिकको रिदम अनुसार चल्ने एम्बियन्ट लाइट, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, लेदरेट हिटेड र भेन्टीलेटेड फ्रन्ट सिट, मेमोरी ड्राइभर सिट, पावर टेलगेट, फ्लस डोर ह्याण्डलबार पाउन सकिन्छ ।
सुरक्षा फिचर
युरोपियन एनक्यावले गरेको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको लीपमोटर सी-१० मा सुरक्षाका सबै आधुनिक फिचर छन् । यसमा ७ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीबियुसन, हाइड्रोलिक ब्रेक असिस्ट पाउन सकिन्छ । साथै, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट, एक्टीभ रोल ओभर प्रोटेक्सन, मल्टि कलुजन ब्रेक, ब्रेक ओभरराइड सिस्टम दिइएको छ ।
सी-१० एसयूभीमा १३ वटा हाइ प्रिसिजन सेन्सर सहितको १९ प्लस फिचर रहेको एडास सिस्टम दिएको छ ।
प्रोटोन इमास-७ ले आसियन एनक्यापको क्रयास टेस्टमा ५ स्टारको रेटिङ पाएको छ । यसमा १५ प्रकारको सुरक्षा फिचर भएको लेवल २ एडास सिस्टम रहेको छ । यसमा ६ वटा एयरव्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रीक स्टेबिलीटी कन्ट्रोल, एक्टीभ रोल ओभर प्रोटेक्सन, हिल होल्ड, रियर एण्ड फ्रन्ट पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा जस्ता फिचर छन् ।
मूल्य
मूल्यको कुरा गर्दा प्रोटोन इमास-७ केही सस्तो छ । यसको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
लीपमोटर सी-१० को मूल्य ७२ लाख रुपैयाँ तोकेको भएता पनि अहिले ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेकाे छ।
निष्कर्ष
क्याबिन फिचर र मोटर पावर लगभग समान भएका दुई इलेक्ट्रीक एसयूभीको रेन्ज पनि लगभग उस्तैछ । बाहिरी बनावट अनुसार हेर्दा लीपमोटरको सी-१० अलि बल्की र लामो देखिन्छ । प्रोटोन इमास-७ स्लीक र स्मार्ट देखिएको छ ।
प्रोटोन इमास-७ को भन्दा धेरै ग्राउण्ड क्लियरेन्स हुनु र रियर ह्वील ड्राइभ हुनु लीपमोटर सी-१० को बलियो पक्ष हो । नयाँ टेक्नोलोजीको ‘सेल टु बडी ब्याट्रीप्याक’, टप सेफ्टी फिचर इमास-७ को राम्रो पक्ष हो ।


