काठमाडौं । एमजी एस-५ को बिक्री पश्चिम नेपालको बुटवल र भैरहवाबाट एक साथ सुरु भएको छ । काठमाडौंमा बुकिङ खुला भएको ठ्याक्कै एक महिनापछि उपत्यका बाहिर बिक्री सुरु भएको हो ।
पारामाउन्ट मोटर्सको डिलरको रुपमा काम गर्दै आएको बरुण मोटर्स बुटवल र थ्री एचएल कम्पनी भैरहवाले एमजी एस-५ को बिक्री सुरु गरेका हुन् । यी दुबै डिलरहरुले काठमाडौंमा बुकिङ खुला भएसँगै ठूलो परिमाणमा बुकिङ लिएको र गाडी लन्चिङसँगै डेलिभरी पनि सुरु गरेको एमजीको आधिकारीक बितरक पारामाउन्ट मोटर्सले जनाएको छ ।
एमजी जेडएस ईभीको विकल्पमा बजारमा आएको एमजी एस-५ नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यमा किन्न पाइने कम्प्याक्ट एसयूभी हो । कम्पनीले ४३ लाख ९९ हजार सुरुवाती मूल्य राखेर एस-५ बिक्री सुरु गरेको थियो ।
एस-५ दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसमा ४९ र ६२ किलोवाट आवरका दुई फरक ब्याट्री पाउन सकिन्छ । ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
सानो ४९ किलोवाट आवरको ब्याट्रीमा दुई भेरियन्ट पाउन सकिन्छ । जसमा इन्ट्री भेरियन्टमा सनरुफ, लेदर सिट लगायतका फिचर छैनन् । यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । यसको फुल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
एमजी एस-५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
चार्जिङ क्षमताको आधारमा पनि एस-५ राम्रो देखिएको छ । यसमा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरको सहायताले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल २६ मिनेट लाग्नेछ । अझ ठूलो ब्याट्री २१ मिनेटमै ३० वाट ८० प्रतिशत चार्ज हुन्छ ।
यसको इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ ।
नेपालमा धेरैले सोध्ने ग्राउण्ड क्लियरेन्स पनि यसमा १८० एमएम पाउन सकिन्छ । कम्पनीले एस-५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ । ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ ।


