आजदेखि नारायणगढ-बुटवल सडक दैनिक ४ घण्टा बन्द

काठमाडौं । नारायणगढ–बुटवल सडक अन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक ४ घण्टा सवारी आवगमन बन्द हुने भएको छ ।
दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि चैत ३१ गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गरिने भएको हो ।

नारायणगढ-बुटवल सडक आयोजनाका अनुसार दाउन्ने क्षेत्रमा आजदेखि चैत ३१ गतेसम्म बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म सडक बन्द गरिने भएको हो ।

त्यस्तै, २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिने आयोजनाले जनाएको छ ।

नारायणगढ-बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन् ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । १७ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको काम भइरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।


Back_to_top