काठमाडौं । अब हिट एण्ड रन (दुर्घटनापछि सवारी साधनको पहिचान हुन नसके)मा पीडितलाई सरकारी कोषबाट क्षतिपूर्ति दिने व्यवस्था गरिने भएको छ ।
भौति पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको सडक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१’को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।
प्रस्तावित विधेयक अनुसार अब कुनै पनि सडक दुर्घटना भई सवारी साधनको पहिचान हुन नसकी पीडितले कुनै कारणवस क्षतिपूर्ति पाउन नसके राष्ट्रिय सडक सुरक्षा परिषद्को कोषबाट क्षतिपूर्ति गराइने व्यवस्था गरिएको छ । परिषद्को कोषबाट क्षपिूर्ति दिलाउन बीमा सम्बन्धी आवश्यक कार्यविधि लागू गरिने मन्त्रालयले जनाएको छ ।
‘सडक दुर्घटना पश्चात सवारी साधन पहिचान हुन नसकेको (हिट एण्ड रन) अवस्था वा कुनै कारणवस सडक दुर्घटनाबाट क्षतिपूर्ति प्राप्त गर्न नसकेका पीडितलाई परिषद्को कोषबाट क्षतिपूर्ति उपलब्ध गराउन परिषद्ले बीमा सम्बन्धी आवश्यक कार्यविधि लागू गर्नेछ,’ प्रस्तावित विधेयकमा भनिएको छ ।
हाल ‘हिट एण्ड रन’ प्रकृतिका दुर्घटना पीडितले क्षतिपूर्ति नै पाउन नसक्ने अवस्दा पीडित झन् पीडित बन्नुपर्ने अवस्था छ । त्यसैलाई मध्ये नजर गर्दै सरकारले दुर्घटना गराउने सवारी पहचिान हुन नसके पनि सरकारी कोषबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गर्न लागेको हो ।
सरकारले सडक यातायातसँग सरोकार राख्ने पक्षहरूका बीचमा समन्वय तथा नियमन गरी सडक सुरक्षालाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र मार्गदर्शन गर्न गराउने राष्ट्रिय सकड सुरक्षा परिषद् स्थापन गर्ने प्रस्ताव गरेको छ ।