काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य ४ वर्ष यताकै सस्तो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गता सातादेखि विश्वका १८० बढी देशलाई पारस्परिक भन्सार (रेसिप्रोकल ट्याक्स) लगाएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो ।
पछिल्लो एक सातामै कच्चा तेलको मूल्य औसतमै २० प्रतिशतले घटेको छ । बुधबार (बिहान साढे ११ बजे) विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ६०.४४ डलरमा झरेको छ । यो सन् २०२१ फेब्रुअरी ८ यताकै सस्तो हो । ट्रम्पको नयाँ कर नीतिपछि मात्रै ब्रेन्ट क्रुडको मूल्य २३.८५ प्रतिशतले घटेको हो ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआइ) क्रुड ५७.०४ डलरमा झरेको छ । यो पनि सन् २०२१ फेबु्रअरी यताकै सस्तो हो । त्यसैगरी, मुर्बान क्रुडको भाउ प्रतिब्यारेल ६१.६३ डलरमा झरेको छ । त्यस्तै, अन्य क्रुड आयलहरूको मूल्य ४ वर्ष यताकै तल्लो बिन्दुमा आएको छ ।
ट्रम्पको नयाँ कर नीतिले विश्वव्यापी ट्रेड वार चर्काउने र त्यसले आर्थिक वृद्धिलाई संकुचित बनाउने प्रक्षेपण भएको छ । यस्तोमा विश्व बजारमा इन्धनको माग घटाउने देखिएकाले तेलको मूल्यमा उच्च गिरावट आएको हो ।
त्यस्तै, अमेरिकाले अब आफ्नो तेल उत्पादन बढाउँदै विश्व बजारमा बेच्ने नीति लिने भएको छ । यसअघि आफ्नो तेल भण्डारण गर्दै आएको अमेरिकाले अब उत्पादन बढाइ विश्व बजारमा बेच्ने भएको हाे । जसकारण विश्व बजारमा अपूर्ति बढ्ने हुँदा आगामी दिनमा कच्चा तेलको मूल्य अझै सस्तिने प्रक्षेपण भइरहेको छ ।
अमेरिकाले तेल उत्पादन बढाउँदा यसको प्रत्यक्ष असर तेल उत्पादक तथा निर्यात गर्ने मुलुकको संगठन (ओपेक)लाई पर्ने देखिएको छ ।
सन् २०२२ फेब्रअरी रुस युक्रेन युद्ध सुरू भएसँग कच्चा तेलको मूल्य प्रतिब्यारेल १३६ डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछिदेखि घट्न थालेको कच्चा तेलको मूल्य लगातार ओरालो यात्रामा छ । ट्रम्पको नयाँ कर नीतिले भने झनै घटाउने देखिएको छ ।
ट्रम्पका कारण तेल उत्पादक देशहरूलाई घाटा हुने भए पनि नेपाललाई भने फाइदा पुग्ने भएको छ । नेपालले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद गर्दैन । नेपालले हाल भारतबाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको मूल्य घट्दा भारतमा पनि सस्तिने र त्यसको सकरात्मक प्रभाव नेपालमा पनि पर्ने गर्छ ।
नेपालले वार्षिक साढे ३ खर्ब रुपैयाँ बढीको पेट्रोलियक पद्धार्थ आयात गर्दै आएको छ ।