काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सफलताको स्वाद चाखिरहेको इलेक्ट्रीक एसयूभी किया ईभी-५ को तुलना टेस्लाका कारसँग हुँदै आएको छ । उत्कृष्ट बनोट, फरक ड्राइभिङ प्लेजर र इफिसियन्ट एसयूभीको रूपमा यसले अलगै पहिचान निर्माण गरेको हो ।
एशियाका अधिकांश ईभी बजारमा चिनियाँ उत्पादनको दबदबा रहे पनि युरोप र अमेरिकी बजारमा किया ईभी-५ ले धेरैको ध्यान खिच्न सफल भएको हो । किया पश्चिमा बजारमा पहिल्यैदेखि सफल ब्राण्ड मानिन्छ ।
उसोत कियालाई लिगेसी ब्राण्डमा तीव्र ईभी विकास गर्ने कम्पनीको रूपमा व्याख्या गर्नेहरू धेरै छन् । कियाको रफ्तारमा थोरै मात्रै पुराना लिगेसी बोकेका ब्राण्डले ईभी बनाएका छन् ।
कियाले सन् २०३० सम्ममा वार्षिक १६ लाख विद्युतीय कार बिक्री गर्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो । किया सोल ईभीबाट उत्पादन सुरू गरेको कम्पनीसँग अहिले वर्ल्ड क्लास ईभी-६, ईभी-९, ईभी-५, ईभी-३ जस्ता मोडल छन् ।

त्यसका अलावा कम्पनीले ईभी-४, ईभी-२ र ईभी-१ को पनि कन्सेप्ट देखाइसकेको छ । ईभी सिरिजमा बलियो देखिएको कियालाई ईभी-५ नेक्स्ट लेभलमा लाने अटोपण्डितहरूले दाबी गरेका छन् ।
यस्तो छ ईभी-५
एसयूभी भन्नासाथ साइजको कुरा आइहाल्छ । साइजमा पनि किया ईभी-५ पर्फेक्ट छ । यसको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १७१५ एमएम छ । यसको उचाइ निकै आकर्षक मान्न सकिन्छ ।
किया ईभी-५ मा ६४.२ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्री यस अघि किया निरोमा उपलब्ध थियो । उक्त ब्याट्रीलाई एकपटक फुलचार्ज गर्दा ४०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टमा देखिएको छ । यसमा मोटर भने १६० किलोवाटको छ ।
कियाले ईभी-५ लाई अल ह्वील ड्राइभ अप्सनमा पनि उपलब्ध गराएको छ । कम्पनीले अल ह्वलि भेरियन्टमा ८८.१ किलोवाट आवरको ब्याट्री दिएको छ । अलह्वील भेरियन्टमा अगाडि १६० र पछाडि ७० किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर २३० किलोवाट (३०८ हर्स पावर) हुन्छ । यो भेरियन्टको रेन्ज ४७० किलोमिटर रहेको छ ।

निकै सामान्य लाग्ने डिजाइनमा तयार भएको ईभी-५ को ढोकामा कडा प्लाष्टिकको प्रयोग भएको छ । ड्यासबोर्ड सफ्टटच मेटेरियरल र सिट र फेब्रिक मिसिएको लेदर छन् । फोर स्पोक स्टेरिङ ह्वील, १२.३ इन्चको डिजिटल क्लष्टर, १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम, छुट्टै एसी कन्ट्रोलका लागि ५ इन्चको स्क्रीन पाउन सकिन्छ ।
कहिले आउँछ नेपालमा ईभी-५ ?
कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले कियाका अधिकांश ईभी नेपाल ल्याएको छ । कम्पनीले सोल ईभीबाटै नेपालमा बिक्री थालेको थियो । त्यसपछि निरो, ईभी-६ र अहिले आएर ईभी-९ मोडल पनि उपलब्ध गराइसकेको छ ।
कम्पनीका अनुसार ईभी-५ पनि नेपाल ल्याउन तयारी सुरू भएको छ । तर, ठ्याक्कै कुन मितिमा आउँछ एकिन छैन । चाँडै नेपाल ल्याउन भने प्रयास भइरहेको कम्पनीको भनाइ छ ।


