काठमाडौं । सवारी चालक अनुमतिपत्र ड्राइभिङ लाइसेन्सको ट्रायल पास भएका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् ।
ट्रायल पास भएका सेवाग्राहीले स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि यातायात कार्यालयहरुले फोटो र क्युआर कोड सहितको रसिद दिने निर्णय गरेको हो ।
गत २९ साउनमा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकले यस्तो निर्णय पारित गरेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।
विभागले तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले सवारी चालक पहिचानका लागि फोटो र क्यूआर कोड सहितको रसिद वितरण गर्ने योजना ल्याएको रिजालले बताए ।
यस सिस्टमको जाँच गर्नका लागि क्युआर रिडिङ गर्ने मेसिनको आवस्यक पर्ने छ । त्यसका लागि सरकारले ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिडिङ गर्ने मेसिन उपलब्ध गराउने भएको हो ।
त्यस्तै, यसअघि सबै स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले गर्दै आएको थियो । अब भने लाइसेन्स छपाइको काम अन्य प्रदेश स्थित यातायात कार्यालयहरूबाट पनि हुने भएको छ ।


