राजश्व तिरेकै दिन लाइसेन्स, जेठ १ गतेबाट अनलाइन दर्ता खुल्ने

काठमाडौं । यातायात ब्यवस्था विभागले लाइसेन्स वितरणमा देखिएको समस्या समाधान गर्न अग्रसरता देखाएको छ । विभागले आगामी आर्थिक वर्षदेखि ट्रायल पास भएको केही दिन भित्रै लाइसेन्स उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।

‘हामीले विगत धेरै वर्षदेखि देखिएको समस्या समाधान गर्ने बाटो पत्ता लागएका छौं । अहिलेको तयारी अनुसार आगामी आर्थिक वर्षबाट लाइसेन्स लिन कुर्नु पर्दैन’, विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

घिमिरेका अनुसार एक वर्षको अस्थाइ लाइसेन्स तत्काल दिनेगरी तयारी भएको छ । तर, एक वर्षपछि स्थाई वा नविकरणको लागि आउनेले भने करिब १५ दिन कुर्नु पर्ने छ । सुरुमा अस्थाई दिने लाइसेन्सले नयाँ लाइसेन्स लिनेको समस्या समाधन गर्ने घिमिरेको भनाई छ ।

विभागले अहिले लाइसेन्सको लागि आवेदन दिएर बसेकाहरुको लिखित र ट्रायल जतिसक्दो चाँडो सक्नेगरी काम गरिरहेको छ । यातायात कार्यालयहरुले पूर्ण क्षमतामा ट्रायल सेन्टरहरु संचालन गरिरहेको जनाएका छन् । अब जेठ १ गतेबाट पुन अनलाईन नाम दर्ता खोल्न तयारीमा विभागले गरेको छ ।

यातायात ब्यवस्था विभागले स्मार्ट लाइसेन्स लागु गरेदेखि अहिलेसम्म लाइसेन्स सहज हुन सकेको छैन । साथै, २०७२ सालमा आएको भुकम्प र त्यसपछिको नाकाबन्दीको समयदेखि लाइसेन्सको ट्रायल र ट्रायल पास भएकाहरुलाई सहजै लाइसेन्स दिन सकिरहेको छैन । नविकरण गर्नेले पनि २ वर्षसम्म कुर्नु परिरहेको छ ।


Back_to_top