काठमाडौं । केही यातायात कार्यालयहरूले २ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) सुरू गर्ने तयारी गरेका छन् ।
जेनजी आन्दोलका कारण यातायात व्यवस्था विभागको लाइसेन्स सम्बन्धी अनलाइन प्रणाली (ईडीएल)मा क्षति पुगेसँगै भदौ २४ देखि देशभर लाइसेन्स सम्बन्धी सबै काम रोकिएको थियो ।
विभागले असोज १६ देखि आफ्नो अनलाइन प्रणाली मर्मत गरी आंशिक संचालनमा ल्याएसँगै केही कार्यालयहरूले ट्रायल परीक्षा संचालनको तयारी गरेका हुन् ।
यद्यपि, कार्यालयहरूले नयाँ नभई यसअघि निर्धारित भई स्थगित भएको ट्रायल परीक्षा संचालन गर्न लागेका हुन् ।
यातायात व्यवस्था कार्यालय, रुपन्देहीले जेनजी आन्दोलनका कारण स्थगित ट्रायल परीक्षा कात्तिक २४ गते (सोमबार)देखि संचालन गर्ने भएको छ ।
कार्यालयका अनुसार भदौ २४ गतेका लागि तय भएको ट्रायल परीक्षा कात्तिक २४ देखि २७ गतेसम्म संचालन गर्ने भएको हो । नयाँ आवेदन कहिलेदेखि खुलाइन्छ भन्ने बारे भने कार्यालयले केही जानकारी दिएको छैन ।
त्यस्तै, यातायाता व्यवस्था कार्यालय, तनहुँ (डुम्रे)ले कात्तिक २५ गतेदेखि रि ट्रायल सेवा सुरू गर्ने भएको छ । कार्यालयका अनुसार जेन जी आन्दोलनका कारण रोकिएको भदौ २४ देखि २८ गतेसम्म रोकिएको नयाँ तथा वर्गथपको रिट्रायल कात्तिक २५ गतेदेखि सुरू गर्ने जनाएको हो ।
त्यसैगरी, यातायात व्यवस्था कार्यालय, राधेराधेले पनि भदौ २३ गते रि ट्रायलका लागि राजस्व बुझाउनेहरुलाई भोलिदेखि राजस्व कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
अन्य कार्यालयहरूले पनि यसअघि स्थगित भएको ट्रायल परीक्षा संचालनको तयारी भइरहेको जनाएका छन् ।
हाल देशभरका ४२ कार्यालयले लाइसेन्स सम्बन्धी सेवा प्रदान गर्दै आएका छन् । तीमध्ये हालसम्म २ दर्जन बढी कार्यालयले लाइसेन्स नवीकरण लगायत दिन थालिसकेका छन् । हालसम्म लाइसेन्सको नयाँ आवेदन, लिखित र प्रयोगात्मक परीक्षा भने सुरू गरेका छैनन् । आवश्यक तयारी गरी नयाँ आवेदन खुलाउने व्यवस्था गरिने विभागले जनाएको छ ।


