काठमाडौं । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन तोकिएको म्यादभन्दा डेढ महिना अगावै निर्माण सम्पन्न भएको छ ।
ठेक्का सम्झौता अनुसार २०२५ डिसेम्बर १५ (मंसिर २९ गते) सम्म सम्पन्न हुनु पर्ने टर्मिनल भवन सो अगावै पूरा भएको हो ।
शर्मा एण्ड कम्पनीले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरी टर्मिनल भवन निर्माण सुरू गरेको थियो । यसको लागत भ्याटसहित करिब ३ अर्ब ९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भएसँगै मंसिर पहिलो साताबाट टर्मिनल भवन परीक्षणका रूपमा संचालन हुनेछ । सुरूमा परीक्षणकालीन सेवा संचालन गरिने र त्यसको करिब डेढ महिनापछि पूर्णरूपमा नियमित सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ ।
नयाँ भवन संचालनका लागि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक दीपेन्द्र श्रेष्ठ लगायतकाे टाेलीले स्थलगत अनुगमन समेत गरिसकेका छन् ।
५ हजार ७५ स्क्वायर मिटरको क्षेत्रफलमा नयाँ तीन तले आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवन बनाइएको हो । टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भीआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार, क्वारेन्टिइन चेकजाँच, प्रशासनिक कक्ष, विमान कम्पनीका कक्ष, व्यापारिक सटर, शौचालय लगायत सुविधा सम्पन्न संरचना निर्माण गरिएको छ ।
साथै पार्किङ, एप्रोन, गेष्ट हाउस, गार्डेन, ल्याण्ड स्केपिङलगायत विभिन्न संरचना निर्माण गरिएका छन् । अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा १ हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ ।
त्यस्तै, टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापन समेत गरिएको छ ।
नवनिर्मित संरचनामा एटीआर-७२ जहाज ३ वटा र ट्वीनेटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने व्यवस्था पनि गरिएको छ ।

