हेल्मेटको सफलतापछि ब्याट्री उत्पादनमा आवास ग्रुप, खुल्दैछन् नयाँ उद्योग

काठमाडौं । नेपालमा नै गुणस्तरिय हेलमेट तथा लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले ब्याट्री उत्पादनसमेत सुरु गरेको छ । कम्पनीले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने ब्याट्री उत्पादन सुरु गरेको हो ।

कम्पनीले दुई पाङ्ग्रे, तीनपाङग्रे ई–रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर र सोलारमा प्रयोग हुने ब्याट्रीहरु उत्पादन सुरु गरेको हो ।

नेपालमा सवारीसाधन लक्षित उद्योगहरु खुल्न थालेको समयमा आवास समूहले ल्याएको ब्याट्रीले बजार माग धान्न सक्नेगरी उत्पादन गर्न लागेको जनाएको छ । कम्पनीले आयात प्रतिस्थापन गर्न सक्नेगरी उत्पादन गर्न लागेको हो ।

‘बजारमा ड्राई ब्याट्रीहरु धेरै देखिन्छ तर, ड्राई ब्याट्रीको तुलनामा जेल ब्याट्री गुणस्तरीय र भरपर्दो हुने हुँदा कम्पनीले नयाँ प्रविधिमा आधारित जेल तथा लिड एसिड ब्याट्रीको उत्पादन गर्न सम्पूर्ण तयारी पुरा गरेका छौं । अबको केही दिनमा नै बजारमा हाम्रो उत्पादनको विक्री सुरु हुनेछ’, आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैबले मेरोअटोसँग भने ।

कम्पनीले ‘मिकासा र ओक्साइड ब्राण्ड’मा ब्याट्री ल्याउन लागेको हो । मिकासा ब्राण्डका ब्याट्री दुई पाङ्ग्रेको लागि र ओक्साइ ब्राण्डका ब्याट्री तीनपाङ्ग्रे तथा अन्य साधनहरुमा प्रयोग हुने प्रबन्ध निर्देशक थैबले जानकारी दिए ।

कम्पनीका अनुसार दुई पाङ्ग्रेमा प्रयोग हुने तथा इलेक्ट्रीक रिक्सामा प्रयोग हुने ब्याट्रीमा दुई वर्षको वारेन्टी रहने छ । अन्यमा प्रयोग हुने ब्याट्रीमा तीन वर्षको वारेन्टी उपलब्ध हुनेछ । यी ब्याट्रीहरु मेन्टिनेन्स फ्रि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले निकट भविष्यामा नै इलेक्ट्रीक स्कुटरहरुमा प्रयोग हुने लिड एसिड ब्याट्री उत्पादनको काम सुरु गर्नेसमेत जानकारी दिएको छ । कम्पनीले त्यसका लागि अध्ययन गरेर काम सुरुगर्ने र लिथियम आयन ब्याट्री निर्माणको लागि अध्ययन गरिरहेको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा ग्लोवल सर्टिफाइड हेलमेट तथा लेगगार्ड विक्री गरिरहेको छ । यति ब्राण्डका उच्चस्तरीय हेलमेट तथा मयुर ब्राण्डका लेगगार्डहरु कम्पनीले उत्पादन र विक्री गर्दै आएको छ ।


Back_to_top