इलेक्ट्रीक ट्याक्सीमा टाटाको छलाङ, एउटै कम्पनीले गर्‍यो २५ हजार यूनिट अर्डर

काठमाडौं । टाटाको इलेक्ट्रीक ट्याक्सी एक्सप्रेस-टीको माग उच्च हुँदै गएको छ । अमेरिकी कम्पनी उबरले भारतको लागि २५ हजार यूनिट कार अर्डर गरेर विद्युतीय ट्याक्सीमा आफुलाई केन्द्रित गरेको हो ।

उबरसँगै टाटाले विद्युतीय ट्याक्सी उत्पादन र सप्लाईमा छलाङ लगाउने पक्का भएको देखिन्छ । नेपालमा पनि केही दिनअघि मात्रै सिप्रदी ट्रेडिङले एक्सप्रेस-टीको बुकिङ खुल्ला गरेको थियो ।

टाटाले ट्याक्सीको रुपमा ल्याएको एक्सप्रेस टीमा ५५ किलोवाट क्षमताको मोटर र २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको छ । यसले १७० एनएम टर्क उत्पादन गर्छ । अटोमोटीभ नियामक संस्था एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ ।

५ सिट क्षमता भएको यस ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर रहेको छ । बुट स्पेस ३१६ लिटर पाउन सकिन्छ ।

गाडीको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३२ एमएम छ । त्यसैगरी, २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

एसी र डिसी दुबै चार्ज सर्पोट गर्ने एक्सप्रेस टीलाई १५ एम्पायरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शुन्य देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । त्यस्तै, २५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेट भित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

मल्टी ड्राइभ मोड उपलब्ध यो गाडीमा अगाडि ह्वीलमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ । यस ईभी ट्याक्सीमा ह्वील एसिस्ट सिस्टमसँगै थप आकर्षक फिचर समावेश गरिएको छ ।

सुरक्षाका लागि यसमा ड्यूल एयरब्याग, इबीडी सहितको एबीएस, पावर विन्डो, ड्राइभर इन्फरमेसन सिस्टम दिइएको छ ।


Back_to_top