पृथ्वी राजमार्गकै सबैभन्दा लामो पुल निर्माणले लियो गति, ७२% सकियो काम

काठमाडौं । मुग्लिन(पोखरा सडक योजना अन्तर्गत मादी नदीमा चारलेनको ‘आर्क ब्रिज’ निर्माणले तीव्रता पाएको हो ।

तनहुँको व्यास नगरपालिका वडा नं. ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म झण्डै तीनचौथाई काम सम्पन्न भएको हो ।

मुग्लिन पोखरा सडक योजना -पूर्वी खण्ड)का इन्जिनीयर विष्णुप्रसाद पाण्डेका अनुसार मादी पुलको भौतिक प्रगति ७२ प्रतिशत पुगेको छ । उनले वर्षायामका सुस्त रहेको कामले चाडपर्व सकिएपछि गति लिएको बताए ।

‘जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दशैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ,’ उनले भने ।

गत साउन २६ गते म्याद सकिएपछि पुलको म्याद ११ महिना (२०८३ असार १९ गतेसम्म) थपिएको उनले बताए । ‘सम्झौता अनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको छ । पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको हो,’ उनले भने ।

३१५ मिटर लामो उक्त पुलमा ६ वटा स्पान छन् । यो पुथ्वी राजमार्गकै सबैभन्दा लामो पुल समेत हो । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए ।

३ वर्षभित्र सम्पन्न गर्नेगरी जेडआइष्ट अन्नक जेभीले २०७९ साउन २६ गते १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

मादी नदीमा यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण गर्न लागिएको हो ।

मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी-जामुनेसम्मको ४१.४५ किलोमिटर कालोपत्र सकिएको छ । यसखण्डको सडक निर्माण पनि सकिसकेको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चारलेनको सडक बनाइएको हो ।


Back_to_top