ब्रेजा र म्याग्नाइटमा कुन ठीक ? विक्री संख्यामा कडा टक्कर

काठमाडौं । नेपाली बजारमा सब कम्प्याक्ट एसयूभीको बजार विस्तार भइरहेको छ । खराब बाटो र हेर्दा ठूलो देखिने भएकाले ग्राहकको रोजाई सेडान वा ह्याचब्याक भन्दा साना एसयूभीमा बढी देखिन्छ ।

नेपाली बजारमा अधिकांश ब्राण्डले ४ मिटरभन्दा छोटो साइजका एसयूभी उपलब्ध गराउँदै आएका छन् । मारुती सुजुकी, निसान, हुन्डाई, किया, टाटा, महिन्द्रा र रेनो ब्राण्डले ४ मिटरभन्दा छोटो साइजका एसयूभी बजारमा विक्री गर्दै आएका छन् ।

सन् २०२१ को एक वर्षमा मारुती सुजुकी ब्रेजा र निसान म्याग्नाइटको बीच कडा प्रतिस्पर्धा भएको थियो । यद्यपि, ब्रेजा अगाडि निस्कन सफल भयो । इन्जिन र मूल्यमा यी गाडीबीच भिन्नता भए पनि साइज र फिचरमा भने राम्रै प्रतिस्पर्धा भएको विक्री तथ्यांकले पुष्टि गर्छ ।

सन् २०२१ को फेब्रुअरीबाट नेपालमा विक्री सुरू भएको निसान म्याग्नाइट डिसेम्बर अन्तिमसम्ममा १ हजार ३५० यूनिट आयात भएको भन्सार तथ्यांकले देखाएको छ भने पहिला देखि नै विक्री हुँदै आएको ब्रेजा जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा १ हजार ९८४ यूनिट आयात भएको छ ।

ब्रेजाले आयातमा रेकर्ड बनाएको छ । नेपालमा एसयूभी विक्री सुरू भएदेखि नै कुनै पनि मोडलको एसयूभी यति धेरै आयात भएको पहिलो पटक हो । यस्तोमा नेपालीले रुचाएका ब्रेजा र म्याग्नाइटको तुलनात्मक भिन्नता कस्ता छन् भन्ने हामीले यहाँ केलाएका छौं ।

बाहिरी आवरण

मारुती सुजुकी ब्रेजा बक्सी डिजाइनमा रहेको छ । ब्रेजालाई बाहिरबाट हेर्दा ठूलो साइज र बोल्ड लुक्समा देखिन्छ । कम्पनीले ब्रेजामा एलइडी डीआरएल, फग ल्याम्प, सिग्नेचर रियर लाइटका साथै फोर स्ल्याट क्रोम ग्रिल दिएको छ । त्यस्तै यसमा १६ इन्चको अलोय ह्वील र डिउलटोन कलरले ब्रेजालाई एग्रेसिभ देखाएको छ ।

निसानको म्याग्नाइट पनि लम्बाइमा ब्रेजाको बराबरी हो । यसमा प्रयोग भएको कर्भीसेप र लोअर रुफले पहिलो पटक हेर्दा म्याग्नाइट केही सानो देखिन्छ । तर, यसको अगाडि क्रोमले फ्रेम गरिएको ग्रिल, भर्टिकल एलइडी रनिङल्याम्प, क्रोम एसेन्ट सहितको फगल्याम्प हाउजिङले म्याग्नाइटलाई उत्कृष्ट लुक्स प्रदान गरेको छ । साइडमा रहेको बाक्लो क्लाइडिङ सहितको ह्वीलआर्क तथा १६ इन्चको अलोय ह्वील म्याग्नाइटको आकर्षक पक्ष हुन् ।

ब्रेजामा १९८ एमएम र २०५ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । ग्राउन्ड क्लियरेन्स धेरै खोज्नेलाई म्याग्नाइटले तान्न सक्छ । समान साइजका एसयूभी भएकाले यी दुवैमा समान २५०० एमएमको ह्वीलबेस दिइएको छ । बुटस्पेस लगाभग समान रहेको छ । म्याग्नाइटमा ३३६ लिटर र ब्रेजामा ३२८ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

ब्रेजाको इन्टेरियर

इन्टेरियर

उचाइ तथा चौडाइका कारणले ब्रेजाको क्याविनमा धेरै स्पेश छ होला जस्तो लाग्छ । तर, म्याग्नाइटमा बसिसकेपछि स्पेशको समस्या हुँदैन । रियर सिट, लेगरुम, हेड र सोल्जर रुम म्याग्नाइटमा पर्याप्त भने ब्रेजामा समस्या हुने कुरै भएन । ब्रेजामा पछाडि बस्ने प्यासेन्जरको लागि रियर एसी भेन्टको कमी हुन्छ, म्याग्नाइटले त्यो आवश्यकता पूरा गरेको छ ।

म्याग्नाइटको ड्यासबोर्ड अत्याधुनिक लाग्छ भने ब्रेजामा दिएको ड्यासबोर्ड रेगुलर लाग्छ । म्याग्नाइटमा लेम्बर्गिनीबाट प्रेरित हेग्जागनल एसीभेन्ट पाउन सकिन्छ । साथै, कलरफूल स्क्रीन र एलसीडीमा हेर्न सकिने एसी नवले अपमार्केट फिल दिएको छ ।

दुवै कारमा ड्यासबोर्ड भने अलब्ल्याक कलर थिममा रहेको छ । म्याग्नाइटमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम छ भने ब्रेजामा ७ इन्च पाउन सकिन्छ । म्याग्नाइटमा ७ इन्चको फुल्ली डिजिटल इन्फर्मेसन क्लष्टर रहेको छ । ब्रेजामा भने सेमी डिजिटल क्लष्टर पाउन सकिन्छ ।

म्याग्नाइटको इन्टेरियर

म्याग्नाइटको टप भेरियन्ट फुल्ली लोडेड टेकप्याक रहेको छ । यसमा वायरलेस चार्जर, एम्वीयन्ट लाइट, जेबीएल साउण्ड सिस्टम, टायर प्रेसर मोनिटरिङ, ३६० डिग्री क्यामरा वायरलेस एन्ड्ररोइड अटो तथा एप्पल कारप्ले रहेको छ ।

म्याग्नाइटमा अटो हेडल्याम्प, अटो वाइपरका र इलेक्ट्रोक्रोमीक रियर भ्यू मिरर रहेको छ । जुन फिचरहरु मारुती सुजुकी ब्रेजामा पाउन सकिँदैन । दुवै कारमा सनरुफको कमी भने महसुस हुन्छ ।

इन्जिन

दुवै गाडी पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहेका छन् । मारुती सुजुकी ब्रेजाको सबैभन्दा बलियो पक्ष भनेकै १.५ लिटर क्षमताको फोर सिलिण्डर इन्जिन हो ।

निसान म्याग्नाइटमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन पाउन सकिन्छ । सानो साइजको इन्जिन भए पनि म्याग्नाइटको टर्बो इन्जिनले राम्रो पावर दिन्छ । तीन सिलिण्डर इन्जिन भएकाले म्याग्नाइटमा केही भाइब्रेसन भने फिल गर्न सकिन्छ तर, ब्रेजा निकै स्मुद छ ।

मूल्य

निसान म्याग्नाइट मूल्यको हिसाबले सस्तो रहेको छ । म्याग्नाइट विभिन्न ११ भेरियन्टमा उपलब्ध रहेको छ । म्याग्नाइटको बेस भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

मारुती सुजुकी ब्रेजा दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । ब्रेजाको भीएक्सआई भेरियन्टको ४२ लाख ४९ हजार र जेडएक्सआई प्लस भेरियन्टको ४७ लाख २४ हजार रुपैयाँ रहेको छ । जेडएक्सआई प्लस भेरियन्ट ड्यूल टोन कलर अप्सन किन्न चाहने ग्राहकले ३० हजार रुपैयाँ थपगरी ४७ लाख ५४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

 


Back_to_top