एकैसाता बिक्री सुरू भए तीन कार, चर्चामा मूल्यदेखि फिचरसम्म

काठमाडौं । मार्चको पहिलो साता नेपालमा बिक्री सुरु भएका कार मोडलको संख्या नै तीन पुग्यो । विशेषगरी अटो शोको समयमा मात्रै एउटै सातामा यति धेरै मोडल बजारमा आउने गर्थ्यो ।

विशेष अवसर नभएपनि मार्च पहिलो साता एलईभी-०१, लीप टी-०३ र एमजी एस-५ बजारमा आए । यी तीनवटै मोडल फरक डिजाइन, ब्याट्री साइज र फिचर दिएर बजारमा आएको मोडल हुन् ।

एलईभी महंगो मूल्य र ठूलो ब्याट्री साइजमा उपलब्ध मोडल हो । त्यसैगरी एमजी एस-५ निकै कम मूल्यमा आएको कारण चर्चा कमाउन सफल भएको छ । त्यसैगरी ह्याचव्याक मोडलमा नयाँ थपिएको टी-०३ निकै आकर्षक फिचर भएको सस्तो कारको रुपमा चर्चा कमाएको मोडल हो ।

एलईभी-०१

क्रसओभर डिजाइनमा उपलब्ध एलईभी-०१ उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो ब्याट्रीको कारण चर्चामा रहेको मोडल हो । यसलाई नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध गराइएको छ ।

स्ट्याण्डर्ड र कम्फर्ट भेरियन्टमा उपलब्ध क्रसओभर मोडलमा ब्याट्री प्याक र मोटर साइज भने एउटै छ । एलईभी-०१ मा ६७.१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको ब्याट्री सेलहरू ‘हनिकम्ब आर्किटेक्चर’मा डिजाइन भएको कम्पनीको दावी छ ।

एलईभी-०१ क्रसओभर एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । बाहिरी लुक्स निकै आकर्षक देखिने गाडीको क्याविनमा पनि फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन ।

कम्पनीले यसको क्याबिनमा मल्टिकलर एम्बियन्ट लाइट, मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिट कभर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट दिएको छ । पानारोमिक स्काई रुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड पाउन सकिने एलईभी-०१ को मूल्य कम्फर्ट भेरियन्टको ६१ लाख ९५ हजार र स्टायण्डर्डको ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

लीपमोटर टी-०३

पछिल्लो दिनमा लीपमोटरको सी-१० को सफलतासँगै कम्पनीले आफ्नो पहिलो ह्याचव्याक कार बजारमा ल्याएको छ । कम्पनीले ल्याएको टी-०३ आकर्षक फिचर भएको मोडल हो ।

साँग्रिला मोटर्सले २८ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु गरेको टी-०३ ले सानो ह्याचव्याक कार खोज्ने ग्राहकलाई टाटा टियागो ईभी, नामी इलेक्ट्रीक जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

लीपमोटर टी-०३ मा ३७ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट आवरको मोटर जडान भएको छ । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध कारमा एडास फिचरदेखि डिसी चार्जर सपोर्टसम्म गर्नेछ ।

एमजी एस-५

एमजीले एस-५ इलेक्ट्रीक क्रसओभर मोडल मार्च ६ तारिखमा सार्वजनिक गरेको हो । पारामाउन्ट मोटर्सले एस–५ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँबाट सुरु गरेको हो ।

एमजीले ४९ र ६२ किलोवाट आवरको ब्याट्री दिएको छ । एमजी एस-५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

चार्जिङ क्षमताको आधारमा पनि एस-५ राम्रो देखिएको छ । यसमा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरको सहायताले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल २६ मिनेट लाग्नेछ । अझ ठूलो ब्याट्री २१ मिनेटमै ३० वाट ८० प्रतिशत चार्ज हुन्छ ।

यसको इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२।८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ ।


Back_to_top