काठमाडौं । बजारमा इन्धनको मूल्य महंगो हुँदै जाँदा सामान्य फिचर भएका गाडी किन्ने धेरै ग्राहक अहिले आत्तिनु पर्ने अवस्था छ । यस्तोमा सर्वाधिक माइलेज (२६ किलोमिटर) दिने कारको रुपमा मारुती सुजुकीको नयाँ जेनेरेशन सेलेरियो यही माघ महिनाबाट नेपालमा विक्री सुरु हुँदैछ ।
करिब १ महिना अघिबाट बुकिङ खुल्ला गरेको सिजी मोटोकर्पले नयाँ सेलेरियोको सुरुवाती मूल्य २७ लाख ९९ हजार राखेर बुकिङ खुल्ला गरेको थियो । मूल्यको हिसावले सेलेरियोको सिधा प्रतिस्पर्धा रेनो क्वीड, हुन्डाई सेन्ट्रो र टाटा टियागोसँग हुने देखिएको छ ।
पहिलो जेनेरेशन मोडल सन् २०१४ मा ल्याएको सुजुकीले दोस्रो जेनेरेशन मोडल करिब त्यसको ७ वर्षपछि ल्याएको हो । भारतमा सुरुवातदेखि नै सफल मोडल नेपालमा पनि धेरै रुचाइएको मोडलमा पर्छ । तर, अहिले साना गाडीको बजारमा आएको गिरावटले कस्तो व्यापार पाउँछ त्यो हेर्न भने केही समय अझै कुर्नु पर्ने हुन्छ ।

निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियोले उच्च माइलेज दिनुमा यसमा रहेको १.० लिटर ड्यूलजेट इन्जिनको सफलता मानिन्छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले पनि यसले इन्धन बचत गर्छ ।
यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । साइजमा पनि लगभग पहिलाको जस्तै रहेको सेलेरियामा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
नयाँ जेनेरेश सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ भने, क्यावीन पहिलेको भन्दा प्रिमियम रहेको छ ।

