सन् २०२२ मोटरसाइकलमा विग फाइटः नेपाल आउने क्रममा ३ नयाँ मोडल

काठमाडौं । नेपालमा मोटरसाइकलको बजार निकै तिब्र गतिमा वृद्धि हुने संकेत देखिएको छ । सन् २०२१ मा पहिलो पटक वार्षिक ३ लाख यूनिटको विक्री आँकडा पार गरेको दुई पाङ्ग्रे मोटरसाइकलको बजारमा आयातकर्ताले नयाँ नयाँ मोडल पनि थप गर्दै आएका छन् ।

सन् २०२१ मा नेपालको मोटरसाइकल तथा स्कुटर बजार निकै वृद्धि देखिएसँग आयातकर्ताहरुले भारतमा विक्री सुरु भएका तर नेपालमा पनि सम्भावित चल्तीका मोडल ल्याउने तयारी थालेका छन् ।

भारतमा सफल विक्री सुरुवात गरेका यामाहा एफजेड-एक्स १५०, होन्डा एनएक्स २०० र हिरो एक्सपल्स २०० फोर भी मोडल अब चाँडै नेपाल आउने अपेक्षा गरिएको छ । तर, विश्वव्यापी चलिरहेको कोभिड १९ को तेस्रो लहर, सेमी कन्डक्टर (चिप्स) सर्टेज जस्ता कारण माग अनुसार उत्पादन नहुँदा ठ्याक्कै कुन मितिबाट यी मोडल नेपालमा विक्री सुरु हुँदैछन् भन्ने एकिन गर्न आयातकर्तालाई समेत कठिन भएको छ ।

यामाहा एफजेड-एक्स १५०ः यामाहाले भारतमा उत्पादन गरेको पहिलो रेट्रो डिजाइन एफजेड-एक्स १५० मोडल एफजेडएस भी ३मा आधारित रहेको छ । अहिले नेपालको विभिन्न स्थानमा यसको परिक्षण चलिरहेको छ ।

यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले विगत एक महिनादेखि परिक्षण गरिरहेको रेट्रो लुक मोर्डन टेक्नोलोजीमा आधारित एफजेड-एक्समा गोलो आकारको एलइडी हेडल्याम्प, ब्रान्ड न्यू अल डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टीभीटी, सिंगल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् ।

यामाहाले यसमा १४९ सीसी क्षमताको एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

होन्डा एनएक्स २००ः होन्डाले पहिलो पटक भारतमा उत्पादन गरेको एड्भेन्चर मोटरसाइकल एनएक्स २०० पनि नेपाल आउने अर्को नयाँ मोडल हो । भारतमा यसको विभिन्न किसिमको परिक्षण चलिरहेकोले नेपाल ल्याउन अझै ३/४ महिना कुर्नु पर्ने स्याकार ट्रेडिङ कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले ‘एनएक्स २००’ होन्डाको २.० प्लेटफर्म निर्माण गरेको हो । एड्भेन्चर टुरर मोटरसाइकलको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले ‘एनएक्स २००’ भारतमा नै उत्पादन गरेको हो । भारतमा उत्पादन भएसँगै होन्डाले नेपालमा विक्री गर्ने विग बाइक सेग्मेन्टमा अर्को मोडल थपिने भएको हो ।

नयाँ डायमन्ड टाइप चेसिस, दुबैतिर १७ इन्चको अलोय ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन र नकल गार्ड, एबीएस, अगाडि यूएसडी फर्क, पछाडि मोनोशक जस्ता आधुनिक फिचर यसमा प्रयोग गरिएको छ ।

कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको समान १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले अधिकतम १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्छ ।

हिरो एक्सपल्स २०० फोर भीः हिरोको लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को नयाँ भर्सन नेपाल ल्याउने तयारी भइरहेको छ । नेपाल जनरल मार्केटिङ प्रालिले चाँडै नेपाल ल्याउने योजना बनाएको एक्सपल्स २०० फोर भी हाइवे पर्फमेन्सको लागि उत्कृष्ट रहेको हिरो मोटोकर्पले जनाएको छ ।

भोर भल्भ इन्जिन प्रयोग भएसँगै यसको पर्फमेन्स निकै सुधार भएको बताइन्छ । साथै, कम्पनीले एक्सपल्स २०० फोर भीलाई तीन नयाँ कलर थप गरेर ल्याएको छ ।

यसको फोर भल्भ इन्जिनले यसको पावर समेत वृद्धि गरेको छ । नयाँ एक्सपल्स २०० फोर भीले १८.८ पीएस पावर र १७.३ एनएम टर्क जेनेरेट गर्छ । नयाँ एक्सपल्सले पुरानोको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क धेरै जेनेरेट गर्छ ।

एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध छन् ।


Back_to_top