मारुती सुजुकीको क्रसओभर कार आउँदै, ब्रेजाभन्दा कम मूल्य हुने

काठमाडौं । मारुती सुजुकीले नयाँ क्रसओभर एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बहिर आएका छन् । कम्पनीले आफ्नो चर्चित प्रिमियम ह्याचव्याक कार बलेनोको क्रसओभर मोडल ल्याउन लागेको हो ।

बलेनो मारुती सुजुकीको सर्वाधिक विक्री हुने प्रिमियम एसयूभी हो । यस्तोमा कम्पनीले यसको क्रसओभर मोडल ल्याउन लागेको हो । यसअघि हुन्डाईले पनि आफ्नो प्रिमियम ह्याचव्याक आई २० को क्रसओभर मोडल आई २० एक्टीभ बजारमा ल्याएको थियो । तर, हुन्डाईले नयाँ जेनेरेशन आई २० को क्रसओभर मोडल भने घोषणा गरेको छैन ।

४ मिटरभन्दा छोटो साइजमा आउने नयाँ क्रसओभर ब्रेजाभन्दा कम मूल्यमा आउने छ । उत्पादन ‘कोड नेम वाईटीबी’ नामबाट काम भइरहेको यो क्रसओभरले फोर्ड फ्रिस्टाइलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

मारुती सुजुकीको पाँचौ जेनेरेशन हर्टटेक प्लयाटफर्ममा बन्दै गरेको यो क्रसओभर निकै हलुका मेटेरियलबाट बन्ने जनाएको छ । जसको कारण यसको माइलेज निकै राम्रो रहने छ ।

मारुती सुजुकी बलेनोमा १.२ लिटर ड्यूलजेट पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८९ हर्स पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्नेछ । कम्पनी नयाँ क्रसओभरमा पनि यहि इन्जिन दिने अनुमान गरिएको छ ।

सन् २०२२ मा बजारमा आउने नयाँ क्रसओभरमा रहेका अन्य फिचरको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top