काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । इजरायले इरानमा आक्रमण गरेसँगै सम्भावित युद्धको कारण तेलको मूल्यमा उच्च वृद्धि भएको हो ।
शुक्रबार एकैदिन कच्चा तेलको मूल्य औसतमा साढे ८ प्रतिशतभन्दा धेरैले बढेको छ । शुक्रबार (अपराह्न ४ बजेसम्म) विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ८.९७ प्रतिशतले बढेर ७५.५८ अमेरिकी डलर पुगेको छ ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआइ) क्रुड पनि ९.२४ प्रतिशतले बढेर ७४.३३ डलर पुगेको छ । बिहीबार डब्ल्यूटीआइ क्रुडको भाउ प्रतिब्यारेल ६८.०४ डलर थियो ।
त्यस्तै, मुर्बान क्रुडको भाउ ८.०१ प्रतिशतले बढेर ७४.८० डलर पुगेको छ । त्यस्तै, अन्य क्रुड आयलहरूको मूल्य पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
दुई देश बीच द्वन्द्व चर्किए इरानबाट तेल आपूर्तिमा बाधा पुग्न सक्ने आकलनका कारण कच्चा तेलको मूल्य ह्वात्तै बढेको हो । इजरायलले गएराति इरानको आणविक केन्द्रमा आक्रमण गरेको थियो । इरानले उक्त हमलाको जवाफ फर्काउने बताइसकेको छ ।
सन् २०२२ फेब्रअरीमा रुस युक्रेन युद्ध सुरु भएसँग कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछिदेखि घट्न थालेको कच्चा तेलको मूल्य गत महिना ५७ डलरसम्म झरेको थियो । तर, पछिल्लो १ महिनादेखि फेरि लगातार उकालो लागिरहेको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाललाई पनि घाटा हुनेछ । नेपालले हाल भारतबाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको मूल्य बढ्दा भारतमा पनि महँगिने र त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ ।

