बन्ने भयो एमसीसी अन्तर्गतको ७७ किमी सडक

सांकेतिक तस्बिर

काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सोमबार अर्थ मन्त्रालयले सूचना जारी गर्दै अमेरिकाले एमसीसी आयोजनालाई निरन्तरता दिने पत्र प्राप्त भएको जानकारी गराएको हो ।

एमसीसीले साउन ८ गते (जुलाई २४) नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को २०८१ फागुन २२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको २० जुलाई २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएको थियो,’ अर्थ मन्त्रालयको पत्रमा भनिएको छ, ‘एमसीसीको २४ जुलाई २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको व्यहोरा सरोकारवालालाई जानकारी गराइएको छ ।’

यससँगै एमसीसी अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति हुने निश्चित भएको छ ।

त्यस्तै, एमसीसी अन्तर्गत नै ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण हुनेछ ।

एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा नेपालमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदै छन् ।


Back_to_top