काठमाडौं । जर्मनी लग्जरी कार निर्माता कम्पनी मर्सिडिजले आईस र ईभी दुबै आर्किटेक्चर र प्लेटफर्मलाई उत्तिकै महत्व दिएर विकास गरिरहने बताएको छ । कम्पनीले ५०ः५० रणनीति तयार पारेर कार्यान्वयनमा लगेको हो ।
विश्वका धेरै अटोमोवाइल कम्पनीहरुले पेट्रोलियम पदार्थबाट चल्ने कारको इन्जिन र प्लेटफर्म विकासमा थप लगानी नगर्ने घोषणा गरिरहँदा मर्सिडिज यस्तो रणनीति बनाएको हो ।
मर्सिडिजका सीईओ ओला क्यालनियोसले अटोकार यूकेसँगको छलफलमा आफ्नो रणनीतिको हिस्सा सुनाएका हुन् । उनका अनुसार मर्सिडिजले इक्युपमेन्ट लेवल, स्पेश, टेक्नोलोजी तथा पर्फमेन्समा कुनै पनि सम्झौता नगरी नयाँ मोडलहरु बजारमा ल्याउने दावी गरे ।
सन् २०२८ को अन्त्यसम्म नयाँ जेनेरेशन ‘एस क्लास’ मोडल आईस र ईभी दुबैमा लन्च गर्ने उनको भनाइ थियो । बजारले ईभीलाई शतप्रतिशत विश्वास नगरेसम्म दुबै प्रकारको पावर ट्रेनको अप्सन हुनै पर्ने उनी बताउँछन् ।
मर्सिडिजको लग्जरी सेडान एस क्लास विश्वको एक उत्कृष्ट कार हो । उक्त कारको पछाडि सिटमा पाइने लग्जरीपन कुनै पनि कारले दिन नसक्ने उनको दावी थियो । मर्सिडिजले आगामी १० वर्षसम्म पनि यसको लग्जरीलाई निरन्तर अब्बल बनाउने गरी काम गर्ने उनको दावी छ ।
मर्सिडिजले ५०ः५० को रणनीति बनाए पनि त्यो पक्कै सहज छैन । विद्युतीय कारहरुमा फिजिकल हार्डवेर आर्किटेक्चरमा भन्दा पनि इलेक्ट्रोनिक आर्किटेक्चर र सफ्टवेरमा ठूलो लगानीको आवश्यकता पर्नेछ ।
अहिले मर्सिडिजले यूरो ७ इमिसन स्ट्याण्डर्ड मापदण्ड अनुसार नयाँ जेनेरेशन कम्बस्चन इन्जिन विकास गरिरहेको छ । हाइब्रिड टेक्नोलोजीमा पनि कम्पनी उत्तिकै चनाखो भएर लगानी गरिरहेको छ ।


