काठमाडौं । ‘मेरोअटो राइड’को दोस्रो संस्करण सम्पन्न भएको छ । अटोमोटिभ्स प्रालिद्धारा आयोजित उक्त राइड कात्तिक ३० र मंसिर १ गते सम्पन्न भएको हो ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकर श्रेष्ठ, कार्य समिति सदस्य सुनिल रिजाल, ऋद्धि कार्की र मेघराज पौडलले संयुक्त रुपमा फ्यागअफ गरी राइडको उद्घाटन गरेका थिए ।

काठमाडौंको नक्सालबाट सुरु भएको राइड टोखा-छहरे-बिदुर-धुन्चे हुँदै रसुवाको ब्राबल पुगेर समापन भएको थियो । उक्त राइडमा ४२ वटा मोटरसाइकल सहभागी थिए ।

राइडमा सहभागी राइडरलाई नुवाकोटको विदुर नगरपालिका र रसुवाको ब्राबल होमस्टेले विशेष स्वागत गरेका थिए ।

उक्त राइडलाई रोयल इनफिल्ड, हिराे, बजाज, यामाहा, टीभीएस, काबर्ग हेल्मेट र नेपाल डिस्ट्रीलरीले सपोर्ट गरेका थिए ।

बाइक राइडिङ कल्चर स्थापित गर्दै आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बाइक राइड आयोजना गरिएको राइडका संयोजक हरिप्रसाद गजुरेलले बताए ।

‘हामीले दैनिक कामकाजका लागि मोटरसाइकल प्रयोग गर्दै आएका छौं । पछिल्लो समय मोटरसाइकलमा घुमघाम गर्न जाने ट्रेन्ड बढ्दो छ,’ उनले भने, ‘राइड मार्फत नेपालका नयाँ-नयाँ गन्तव्यको प्रर्यटन प्रबद्र्धन गर्ने हाम्रो अभियान हो ।’ आगामी वर्षहरूमा पनि बाइक राइडलाई निरन्तरता दिइने उनले बताए ।

मेरो अटो राइडको पहिलो संस्करण गत वर्ष काठमाडौंदेखि सोलुखुम्बुको पतालेसम्म गरिएको थियो ।





