काठमाडौं । मोसिर ग्यारेज (एमजी)को लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले विभिन्न ६ मोडल बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएका अधिकांश मोडल एसयूभी हुन् ।
कम्पनीले जेडएस ईभी, हेक्टर, एस्टर र एचएस मोडल एसयूभीको रुपमा बिक्री गर्दै आएको छ भने एमजी–४ क्रसओभर र कोमेट मिनी ह्याचव्याक हुन् ।
एमजीले नेपालमा उपलब्ध गराएको कार लाइनअपमा ३ मोडल इलेक्ट्रीक र ३ मोडल पेट्रोलबाट चल्ने गाडी छन् । कम्पनीको सर्वाधिक सफल मोडल भने जेडएस ईभी हो ।
भदौ महिनामा सार्वजनिक गरेको एमजी४ र कोमेट ईभी पनि ग्राहकले निकै चासो दिइरहेको मोडल हो । पारामाउन्ट मोटर्सले एमजी कोमेट ग्राहकलाई दिन सुरु भइसकेको छ भने एमजी४ दशैं लगत्तै डेलिभरी दिनेगरी ग्राहकसँग बुकिङ लिइरहेको छ ।

चीन र भारतबाट आयात
एमजीका कार चीन र भारतबाट आयात हुँदै आएको छ । कम्पनीले दुई ईभी र एउटा पेट्रोलबाट चल्ने मोडल चीनबाट आयात गर्दै आएको छ । कम्पनीले चीनबाट एमजी४ र जेडएस ईभी ल्याएको छ । त्यस्तै एसयूभी मोडल एचएस पनि चीनबाट आयत भइरहेको मोडल हो ।
भारतीय बजारबाट दुई पेट्रोल र एक ईभी आयात हुँदै आएको छ । कम्पनीले भारतबाट हेक्टर र एस्टर एसयूभी नेपाल ल्याइरहेको छ । त्यसैगरी कोमेट ईभी पनि भारतमा उत्पादन भएको मोडल हो ।
मूल्य
मूल्यको हिसावले सबैभन्दा सस्तो मोडल कोमेट ईभी हो । कम्पनीले दुई भेरियन्टमा कोमेट ईभी बिक्री गर्दै आएको छ । यसको पीस भेरियन्टको मूल्य १७ लाख ९९ हजार र प्ले भेरियन्टको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ ।
त्यसपछि मूल्यको हिसावले कम मूल्य भएको एमजी४ हो । यसको ९९ किलोवाट क्षमताको मोटर र ५१ किलोवाट ब्याट्री भएको भेरियन्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसको टप भेरियन्ट १५० किलोवाटको मोटर र ६४ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एमजी जेडएस ईभी ब्राण्डकै सर्वाधिक सफल मोडल हो । यसलाई तीन भेरियन्टमा उपलब्ध गराउँदै आएको छ । यसको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार, लग्जरी भेरियन्टको मूल्य ५२ लाख ९९ हजार र लङ रेन्ज लग्जरी भेरियन्टको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
पारामाउन्ट मोटर्सले एस्टर एसयूभी एउटा मात्रै भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले यसको सुपर भेरियन्ट ल्याएर बिक्री गर्दै आएको छ । यसको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै हेक्टर एसयूभी पनि बीएसजी हाइब्रिड मोडल मात्रै उपलब्ध छ । यसको मूल्य ७७ लाख ४९ हजार कायम गरेर बिक्री हुँदै आएको छ । एमजीकै सर्वाधिक महंगो मोडल एचएसको मूल्य ८६ लाख रुपैयाँ रहेको छ ।
दशैं अफर
नेपाल आएको झण्डै तीन वर्षपछि एमजीले जेडएस ईभीमा ग्राहकमैत्री स्कीम दिएको छ । आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जेडएस ईभीमा ‘एमजी ड्राइभ, फेस्टीभ भाइब’ नाम स्कीम दिएको छ ।

उक्त स्कीममा ग्राहकले २ लाखसम्मको प्रत्येक्ष लाभ लिन सक्ने कम्पनीको दावी छ । जेडएस ईभी किन्नेलाई पहिलो पटक इन्स्योरेन्स, स्पेयर टायर, ७ किलोवाटको चार्जर दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा नगद छुटको स्कीम भने दिएको छैन ।
जेडएस ईभी बाहेक कम्पनीले अन्य मोडलमा स्कीम दिएको छैन । कम्पनीले एचएसमा २ लाखसम्म नगद छुट दिएको जनाएको छ । हेक्टर र एस्टरमा पनि १ लाख नगद छुट पाइने कम्पनीले जानकारी दियो ।
कोमेट ईभी र एमजी४ मा भने ग्राहकले कुनै पनि स्कीम पाउने छैनन् ।


