काठमाडौं । विद्युतीय कारको भिड बढ्दै गएको छ । नेपालमा २०१७ बाट एसयूभी सेग्मेन्टमा विद्युतीय कारको चर्चा सुरु भएको हो । त्यसअघि साना माइक्रो कारहरु ईभीको रुपमा उपलब्ध थिए ।
नेपालमा इलेक्ट्रीक एसयूभीको चर्चा सुरु गराउने मोडल हुन्डाई कोना हो । सुरुवातमा नेपाल आएदेखि नै यसलाई किन्न खोज्ने ग्राहकले आफुले भनेको समयमा कहिल्यै पाएनन् । तर, अहिले चिनियाँ उत्पादनको उपलब्धता बढेसँगै यस्तो चर्चित मोडलले चर्चा खोज्नु पर्ने अवस्था सृजना भएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको कोना इलेक्ट्रीकले नेपालमा ५ वर्ष सफल पर्फमेन्स दिइसकेको छ । अहिले विभिन्न सामाजिक संजालमा यसका सन्तुष्ट ग्राहकका हजारौं पोष्टहरु भेटिन्छन् । तर, नयाँमा यसको चर्चा सेलाउँदै गएको छ । त्यसैले अहिले चर्चा कम, पर्फमेन्स धेरै भएको मोडल यसलाई मान्न सकिन्छ ।
कोनाको चर्चा सेलाउनुको पछाडि चिनियाँ ब्राण्ड बीचको तिब्र प्रतिस्पर्धा पहिलो कारण हो । चिनियाँ ब्राण्ड एकपछि अर्को नेपाल आइरहेका छन् । उनिहरुले ल्याएको नयाँ एसयूभी डिजाइनको हिसावले ट्रेन्डी पनि देखिन्छन् । त्यसैले २०१८ देखिकै पुरानै डिजाइनको कोना कम चर्चा भएको हो ।

अर्को विषय मूल्य पनि हो । अन्य ब्राण्डले ५० किलोवाट आवरदेखि ७० किलोवाट आवरसम्मका ब्याट्री भएका एसयूभीहरु ५० लाखदेखि ७२ लाख भित्रै मूल्य तोकेर बिक्री गर्दै आएका छन् । यस्तोमा चिनियाँ ब्राण्डसँग मूल्यको प्रतिस्पर्धामा कोना केही पछाडि परेको देखिन्छ । त्यसैले त कम्पनीले केही दिनअघि मात्रै कोना इलेक्ट्रीकमा पनि २ लाखसम्मले मूल्य घटाएको थियो ।
कम्पनीले कोना जीएलको मूल्य ६१ लाख ९६ हजार बाट घटाएर ५९ लाख ९६ हजार रुपैयाँ कायम गरेको हो । तर, सनरुफ सहितको जीएलएस भेरियन्टको मूल्य भने ६४ लाख ९६ हजार रुपैयाँ नै छ ।
सन् २०१८ देखि निरन्तर नेपाली बजारमा रहेको कोना सफल क्रसओभर ईभी हो । सन् २०२२ मा फेसलिफ्ट भएर आएको कोना रेन्ज, सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटीको मिश्रण हो ।
हुन्डाईले कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर उपलब्ध गराएको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री पाउन सकिन्छ । हाइ इनर्जी डेन्सीटी भएको कारण सानो ब्याट्री भएपनि यसको रेन्ज ३०५ किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । नेपाली सडकमा पनि ग्राहकले ३०० किलोमिटर हाराहारी रेन्ज पाइरहेका छन् ।
यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । कम्पनीले यसको ड्यासबोर्डमा दिएको ८ इन्चको टच स्क्रृनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरिय बनाउने कम्पनीको दाबी छ ।


