साना र सस्ता इलेक्ट्रीक कारमा बलियो बन्दै एमजी, ५ नयाँ मोडल आउने

काठमाडौं । कम मूल्यका कार खोज्नेको संख्या भारतमा बढ्दै गएको छ । जसलाई मारुती सुजुकीका उत्पादनको बिक्रीले पनि प्रमाणित गर्छ ।

विद्युतीय कार बजारमा मारुतीको सस्ता कार रणनीतिलाई भारतमा एमजीले अंगिकार गर्ने देखिदै गएको छ । चिनियाँ ब्राण्डले भारतीय कम्पनी जेएसडब्लूसँग साझेदारी गरेसँगै प्रत्येक ३ देखि ६ महिनामा नयाँ मोडल लन्च गर्ने योजना कम्पनीले यसअघि नै सार्वजनिक गरेको थियो ।

अहिले एमजी मोटर्स इन्डियाका प्रेसिडेन्ट तथा म्यानेजीङ डाइरेक्टर राजिब छावाले सन् २०२५ सम्ममा ५ वटा नयाँ मोडलका ईभी बजारमा ल्याउन अनुमति लिइसकेको जनाएका छन् । उनका अनुसार एमजीले ल्याउन लागेको ५ मध्ये ३ मोडल बजेट फ्रेन्डली हुनेछन् । दुई मोडल भने प्रिमियम हुने छावाले बताए ।

यस रणनीति अनुसारको पहिलो नयाँ मोडल आगामी अक्टोबर-नोभेम्बरमा आउने छ । क्रसओभर बडी डिजाइनमा आउने गाडी फिचर लोडेड, क्याविनमा धेरै स्पेश भएको हुनेछ ।

एमजीले सेडानको जस्तो कम्र्फट र एसयूभीको जस्तो यूटीलीटी भएको कार ल्याउन लागेको हो । भारतीय सडकमा परीक्षण भइरहेको क्लाउड ईभी नै पहिलो मोडल हुने अनुमान गरिएको छ । क्लाउड ईभीको लम्बाई ४.३ मिटर हुनेछ ।

एमजीले दोस्रो मोडलको रुपमा उलिङले बिक्री गर्दै आएको विङ्गो ह्याचव्याक ल्याउने छ । इन्डोनेशिया र नेपालमा बिक्री भइरहेको विङ्गो जीएसईभी (ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल) प्लेटफर्ममा बनेको हो । यहि प्लेटफर्ममा इन्डोनेशियामा एयर ईभी र भारतमा एमजी कोमेट बन्नेछ ।

एमजी विङ्गोमा कोमेटको धेरैवटा कम्पोनेन्टहरु शेयर हुनेछन् । यो ह्याचव्याकमा ३१.९ किलोवाट आवरको व्याट्री प्याक रहने छ, जसको रेन्ज ३३० किलोमिटर हाराहारी हुन्छ ।

तेस्रो ईभी मोडलको रुपमा एमजीले विलिङकै व्याचमा चिनियाँ बजारमा लन्च हुन लागेको डी सेग्मेन्टको एसयूभी स्टारलाइट एस हुनेछ । यो एसयूभी प्योर ईभी र प्लगइन हाइब्रिडमा आउने छ । यो एसयूभी एमजी हेक्टर भन्दा ठूलो तथा एमजी ग्लोस्टर भन्दा सानो साइजको रहेको छ ।

यी ३ मोडलहरु भारतीय बजारमा उत्पादन हुँदा धेरै लोकल मेटेरियलहरुको प्रयोग हुनेछ । जसले मूल्य कम गर्न सहयोग पुग्ने बताइन्छ ।

एमजीले भारतीय बजारमा ल्याउने अर्को २ मोडल प्रिमियम मोडल हुनेछन् । दुई मध्ये पहिलो मोडलका रुपमा साइबस्टर हुने अनुमान गरिएको छ । रोडस्टर मोडलको २ ढोके इलेक्ट्रीक स्पोर्ट्स कारको बिक्री अन्तर्राष्ट्रिय बजारमा सुरु हुन लागेको छ ।

प्रिमियम मोडककै रुपमा अर्को मोडल ४.९ मिटर लामो क्रसओभर एसयूभी हुनेछ । एसएआईसी मोटरको राइजिङ अटो ब्राण्डमा उत्पादन भइरहको मोडल भारतमा उत्पादन हुनेछ । इन्डोनेशियामा एमजी आर७ नाममा बिक्री भइरहेको गाडीमा ९० किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहनेछ ।


Back_to_top