४४ लाखमै आयो एमजी एस-५, जेडएस ईभी अब नआउने

काठमाडौं । एमजीले आफ्नो नयाँ एसयूभी सार्वजनिक गरेको छ । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ एस-५ एसयूभीको बिक्री थालेको हो ।

कम्पनीले दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा एस-५ बुकिङ खुला गरेको छ । जसमा ४९ र ६२ किलोवाट आवर क्षमताका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

सानो ४९ किलोवाट आवरको ब्याट्री भएको मोडललाई दुई भेरियन्टमा ल्याएको छ । जसमा इन्ट्री भेरियन्टमा सनरुफ, लेदर सिट लगायतका फिचर छैनन् । यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फुल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु भएको हो ।

अबको केही दिनमै ग्राहकलाई हस्तान्तरण  गर्ने योजनासहित एस-५ बुकिङ लिन सुरू भएको हो । एस-५ बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्नेछन् ।

एमजी एस-५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

चार्जिङ क्षमताको आधारमा पनि एस-५ राम्रो देखिएको छ । यसमा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरको सहायताले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल २६ मिनेट लाग्नेछ । अझ ठूलो ब्याट्री २१ मिनेटमै ३० वाट ८० प्रतिशत चार्ज हुन्छ ।

यसको इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ ।

नेपालमा धेरैले सोध्ने ग्राउण्ड क्लियरेन्स पनि यसमा १८० एमएम पाउन सकिन्छ । कम्पनीले एस-५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ । ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ ।

अब जेडएस ईभी नआउने

एमजीले आफ्नो सर्वाधिक सफल मोडल जेडएस ईभी नेपाल ल्याउने छैन । जेडएस ईभीलाई रिप्लेस गरेर आएको एस-५ ले कति उपभोक्ताको मन जित्नसक्छ, त्यो हेर्न भने बाँकी नै छ ।


Back_to_top