ईभीको मूल्य घटाउने प्रतिस्पर्धामा एमजीको अर्को स्टेप, किन्नेलाई फाइदै फाइदा

काठमाडौं । विद्युतीय सवारी साधनको मूल्य घटाउने प्रतिस्पर्धा सुरु गरेको एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले अर्को झट्का बजारलाई दिएको छ ।

उसोत नेपालमा विद्युतीय गाडीको लिडिङ कम्पनीको पहिचान एमजीसँगै छ । कम्पनीले जेडएस ईभीको मूल्यमा प्रतिस्पर्धा गर्नेदेखि एमजी-४ को नयाँ मूल्य कायम गर्ने विषयसम्ममा बजारलाई प्रतिस्पर्धी बनाउन सहयोग गरेको थियो ।

नाडा अटो शो २०२४ मा जेडएस ईभीको मूल्यमा एकै पटक ६ लाख रुपैयाँ घटाएर पारामाउन्ट मोटर्सले आफु ‘प्राइस वार’को लागि तयार रहेको जनाउ दिएको थियो । अब नयाँ आएको एस-५ को मूल्य जुन हिसावले कायम गरिएको छ, त्यसले समग्र बजारलाई एक पटक तरङ्गीत बनाएको छ । यसका बाछिटाहरु अन्य कम्पनीमा पर्ने छ र प्राइस वारको अर्को श्रृंखला सुरु हुनेछ ।

अहिले बजारमा बिक्री हुँदै आएका बीवाइडी डल्फीन, बीवाइडी एटो-थ्री, सेरेस-थ्री, ओमोडा इ-फाइभ, केई एक्स-थ्री प्रो जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने एस-५ को मूल्य निकै आकर्षक कायम गरिएको हो । आजबाट उपभोक्तले बुकिङ गर्न सक्ने एस-५ तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ४३ लाख ९९ हजारदेखि टप भेरियन्टको ५४ लाख ९९ हजार रपैयाँ कायम भएको छ ।

ब्याट्री अनुसार आकर्षक मूल्य

एमजीको नयाँ एसयूभी एस-५ फिचरको कारण पनि चर्चा रहेको मोडल हो । ब्याट्री टेक्नोलोजीको हिसावले पनि यसमा रहेको विश्वकै सबैभन्दा पातलो डिजाइन तयार भएको ब्याट्री उत्कृष्ट छ । ४९ र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध एस-५ आफ्नो प्रतिस्पर्धीभन्दा कतै कमजोर छैन ।

रेन्जका हिसावले पनि अन्य प्रतिस्पर्धीलाई कडा टक्कर दिने एस-५ को सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । ओमोडा इ-फाइभ र बीवाइडी एटो-थ्रीको रेन्ज पनि ४३० किलोमिटर भित्रै हो ।

अन्य फिचर

फिचरको आधारमा पनि एस-५ बलियो छ । ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कारको पीकटर्क २५० न्यूटन मिटर छ । ड्यास बोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको कारमा थ्री स्पोक स्टेरिङ ह्वील दिइएको छ ।

हिटेड र भ्यान्टीलेटेड सिट रहेको एस-५ मा ४५३ लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ । वायरलेस चार्जर, एमजीको रोटरी गियर नब, इनब्यूल्ट युट्युव, स्पोर्टीफाइ र टिकटक, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले दिइएको छ ।

साइज

एमजी एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलवेस र १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

गाडीको पछाडि ५ लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एस-५ मा एडास २.० प्रयोग भएको छ । यसलाई अहिले बजारमा उपलब्ध एसयूभी मध्ये ‘भ्यालू फर मनी’ मोडल मान्न सकिन्छ ।


Back_to_top