एउटै मूल्य, मोटर र नाम भएका तीन कार, कुन किन्ने ?

काठमाडौं । मूल्यको हिसाबले निकै प्रतिस्पर्धी देखिँदै आएको विद्युतीय कारमा छनोट पनि बढ्दो छ । अहिले बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्यमा तीन ब्राण्डका विद्युतीय कार किन्न पाइन्छ ।

पारामाउन्ट मोटर्सले बिक्री गर्ने एमजी एस-फाइभ, एसपीजी अटोमोबाइलले बिक्री गर्ने ओमोडा ई-फाइभ र एमएडब्लू वृद्धिले हिजो मात्रै बिक्री सुरू गरेको दीपल एस जेरो फाइभको टप भेरियन्टको मूल्य समान ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

रोचक त के छ भने यी तीनवटै गाडीको नामको पछाडि ‘फाइभ’ जोडिएको छ । साइज, ह्वीलबेस लगायतमा पनी यी तीनवटै मोडल बीच प्रतिस्पर्धा देखिन्छ ।

विद्युतीय कारमा बढ्दो प्रतिस्पर्धाको कारण मूल्यमा पनि राम्रै प्रतिस्पर्धा चलिरहेको छ । पारामाउन्ट मोटर्सले मार्चको पहिलो साता एस-फाइभ बिक्री सुरू गर्दा नै ठूलो ब्याट्री सहितको टप भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ राखेको थियो ।

नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजारबाट घटाएर ५४ लाख ९९ हजार बनाइएको हो । यसअघि दुई भेरियन्टमा उपलब्ध ई-फाइभ अब एउटा मात्रै भेरियन्टमा बिक्री हुने कम्पनीको भनाइ छ ।

गत बिहीबार मात्रै मूल्य सार्वजनिक भएको दीपल एस जेरो फाइभको टप भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

साइजमा प्रतिस्पर्धा

साइजको आधारमा दीपल एस जेरो फाइभ ठूलो देखिन्छ । तर, यी तीनवटै कारको बनोट भने फरक छ । एमजी एस-फाइभ क्रसओभर डिजाइनमा तयार भएको परम्परागत डिजाइन र मोर्डन फिचरले भरिएको छ ।

ओमोडा ई-फाइभ कुपे डिजाइनमा आएको पहिलो इलेक्ट्रीक एसयूभी हो । यसले बजारमा राम्रो स्थान बनाइसकेको छ ।

मोर्डन डिजाइन, फिचर र क्याबिन भएको दीपल एस जेरो फाइभ अन्य दुईको तुलनामा कम ग्राउण्ड क्लियरेन्स भएको मोडल हो ।

ब्याट्री र मोटरमा प्रतिस्पर्धा

तीन वटै क्रसओभर एसयूभीको मूल्य जस्तै मोटर पनि समान छ । सबै कम्पनीले नेपाली बजारमा ९९ किलोवाट पीकपावर भएको मोटरमा आफ्नो एसयूभी ल्याएका छन् । ब्याट्री भने फरक छ ।

सबैभन्दा सानो ब्याट्री दीपल एस जेरो फाइभमा छ । यसमा ५६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको सिंगल चार्ज रेन्ज ४०० किलोमिटर रहने छ ।

ओमोडाले ई-फाइभमा ६१ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ ।

एमजी एस-फाइभमा सबैभन्दा ठूलो ब्याट्री छ । यसमा भएको ६२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिनेछ ।

सुरक्षा फिचर

सुरक्षा फिचरमा पनि लगभग समानता पाउन सकिन्छ । तीन वटै क्रसओभर एसयूभीमा लेभल टु एडास फिचर छ । दीपल एस जेरो फाइभमा ६ वटा एयरब्याग र एडास भित्र १९ फिचर छन् ।

एमजी एस-फाइभमा पनि समान ६ एयरब्याग दिइएको छ । पछाडि इन्डिपेन्डेन्ट सस्पेन्स भएको कारण खराब बाटामा पनि यसमा हुने यात्रा आरामदायी हुनेछ ।

ओमोडा ई-फाइभमा भने ७ वटा एयरब्याग पाउन सकिन्छ । अन्य एडास भित्रका फिचर त छँदैछन् ।

अन्य फिचर

सबैभन्दा पछाडि आएको कारण केही लग्जरी लाग्ने फिचरहरू दीपल एस जेरो फाइभमा छ । रिमोर्टबाट गाडी अगाडि बढाउने, अगाडिको प्यासेन्जरका लागि घुँडाको सपोर्ट दिन मिल्ने सिट, फ्रेमलेस डोर, फ्लस टाइप डोर ह्याण्डल पाउन सकिन्छ ।

एमजी एस-फाइभ र ओमोडा ई-फाइभमा पनि फिचर लिस्टको भने कुनै कमी छैन ।


Back_to_top