रोचक प्रतिस्पर्धामा डल्फिन र विन्डसर, उपभोक्तालाई कुनमा बढी फाइदा ?

काठमाडौं । विद्युतीय गाडीको लागि निकै प्रतिस्पर्धी बजारमा एमजीले अघिल्लो साता बजारमा ल्याएको विन्डसर निकै प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएको छ । सहरी क्षेत्रको उपभोक्तालाई मध्यनजर गर्दै सार्वजनिक भएको एमजी विन्डसरलाई कम्पनीले कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) भन्छ । यसको डिजाइन क्रसओभर लुक्समा छ ।

सन् २०२३ को सेप्टेम्बरदेखि नेपाली बजारमा उपलब्ध बीवाइडी डल्फिन चिनाइरहनु पर्ने नाम होइन । ह्याचब्याक कारको बजारलाई नै नयाँ रूपमा व्याख्या गर्न सफल डल्फिन अहिलेसम्म २ हजार ४५० युनिट आयात भएको छ । यसले पनि डल्फिनको लोकप्रियतालाई झल्काउँछ ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र एमजीको आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्स नेपालमा ईभीको विस्तारमा अग्रणी कम्पनी मानिन्छन् ।

सुरूवातमा ठूलो संख्यामा ईभी बिक्री गरेर एमजीले आफूलाई प्रमाणित गरेको थियो । बीवाइडीले पनि २०२२ को अन्तिम तिर एटो-थ्री ल्याएपछि पछाडि फर्केर हेर्नु परेको छैन । त्यसैले बिक्रेताको दृष्टिकोणबाट पनि यी दुई बलिया प्रतिस्पर्धी हुन् ।


यस्तोमा ह्याचब्याक सेग्मेन्टमा निकै बलियो डल्फिनसँग सिधा टक्कर गर्नेगरी एमजीले विन्डसर ईभी बजारमा ल्याएको छ । मूल्यका हिसाबले सस्तो र पावरका हिसाबले बलियो देखिएको एमजी विन्डसर र डल्फिनमा रहेका भिन्नता यहाँ केलाउने प्रयास गरिएको छ ।

मूल्य

सबैभन्दा महत्वपूर्ण र धेरै मानिसको चासो हुने कुरा मूल्य हो । एमजी विन्डसरको एक्साइट भेरियन्टको मूल्य ३७ लाख ९९ हजार र एजुकेटीभको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ ।

बीवाइडी डल्फिन एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँ छ । मूल्यमा विन्डसर एजुकेटिभ भेरियन्ट नै डल्फिनभन्दा १ लाख १६ हजार रुपैयाँ सस्तो छ ।

डिजाइन र साइज

एमजी विन्डसर क्रसओभर डिजाइनमा उपलब्ध छ । यसको ग्राउण्ड क्लियरेन्स १८२ एमएम रहेको कम्पनीको दाबी छ । जबकि डल्फिन प्योर ह्याचब्याक कार हो । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको बिक्रेताको दाबी छ ।

लम्बाइ, चौडाइ र ह्वीलबेसमा पनि कडै प्रतिस्पर्धा देखिन्छ । डल्फिनको लम्बाइ ४२९० एमएम छ । विन्डसर ४२९५ एमएम लामो छ । ह्वीलबेस दुवै कारमा २७०० एमएम छ । बुट स्पेश भने विन्डसरमा निकै ठूलो ६०४ लिटरको पाउन सकिन्छ । जबकि डल्फिनमा ३४५ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

ब्याट्री, रेन्ज र मोटर साइज

डल्फिन ह्याचब्याकमा ४४.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ ।

एमजी विन्डसरमा भने ३८ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३३१ किलोमिटरसम्म रेन्ज दिने भारतीय टेस्ट एजेन्सीले प्रमाणित गरेको छ ।

बीवाइडी डल्फिनमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । एमजीमा भने १०० किलोवाटको मोटर पाउन सकिन्छ । डल्फिनको मोटरले १८० एनएम टर्क प्रदान गर्छ भने विन्डसरको पीकटर्क २०० न्युटन मिटर रहेको छ ।

क्याबिन फिचर

एमजी विन्डसरमा १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । डल्फिनमा १२.८ इन्चको स्क्रीन पाउन सकिन्छ । दुवै कारमा सुरक्षा फिचरको लामो लिस्ट उपलब्ध छ । ३६० डिग्री क्यामेरा दुवै कारमा पाउन सकिन्छ ।


Back_to_top