सरकारले दुर्घटना न्यूनीकरण गर्न कस्ता कार्यक्रम संचालन गर्छ ?

काठमाडौं । नेपालमा सडक दुर्घटनाको तथ्यांक भयानक छ । दुर्घटनाबाट धनजनको ठूलो क्षति व्यहोर्नु परिरहेको छ । नेपालमा सडक दुर्घटनाबाट वार्षिक औसतमा साढे २ हजार बढीले ज्यान गुमाइरहेका छन् भने अर्बौंको क्षति भइरहेको छ ।

सवारी दुर्घटना हुनुमा जीर्ण र जथाभावी खनेका सडक, यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन, चालकको .लापारबाही मुख्य कारण रहेका छन् ।

सडक दुर्घटना नियन्त्रणका सरकारले वर्षेनी बजेट खर्च गर्दै आएको छ ।  भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले सडक सुरक्षा सम्बन्धी १ दर्जन बढी कार्यक्रम संचालन गर्दै आएको छ । ती कार्यक्रममा हरेक वर्ष १ करोड बढी बजेट विनियोजना हुन्छ । उक्त रकम तालिम, प्रचार प्रसार लगायतमा खर्च हुन्छ ।तर, दुर्घटना दर भने घट्नुको साटो बढ्दै गएको देखिन्छ ।

मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख (सह-सचिव) कृष्णराज पन्थले सडक सुरक्षाका लागि हरेक वर्ष  विभिन्न जनचेतनामूलक  कार्यक्रमहरू संचालन गर्ने गरिएको उनले बताए । मन्त्रालयले ट्राफिक प्रहरी, सकड सुरक्षा परिषद्सँग सहकार्य गरेर कार्यक्रम गरिने उनले बताए ।

उनका अनुसार सडक दुर्घटना कम गर्न संचार माध्यममा प्रचार प्रसार गर्ने, चालक, सहचालक, यात्रु, विद्यार्थीहरूलाई रोड सेफ्टी सम्बन्धी तालिमहरू प्रदान गर्ने लगायत कार्यक्रम संचालन हुँदै आएको छ ।

‘सडक दुर्घटना बढ्दो छ । सबै मिलेर यसको नियन्त्रण गर्नुपर्छ । मन्त्रालयले पनि हरेक वर्ष विभिन्न शिर्षकमा देशभर सचेतना कार्यक्रम, चालक सहचालकहरूलाई तालिम प्रदान, संचार माध्यममा जनचेतनामूलक सामग्री प्रचार प्रसार लगायत कार्यक्रम गर्दै आएको छ,’ उनले मेरोअटोसँग भने । यस्ता खालका कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उनको भनाइ छ ।

मन्त्रालयले हरेक वर्ष सडक सुरक्षा सम्बन्धी कार्यक्रम संचालनका लागि करिब १ करोड हाराहारीमा बजेट छुट्याउँदै आएको उनले बताए ।

मन्त्रालयले संचलन गर्ने कार्यक्रम प्रभावकारी हुने भए पनि चालकहरू अनुशासित नहुँदा र लापारबाही गर्दा दुर्घटना न्यूनीकरण हुन नसकेको उनको भनाइ छ ।

प्रचारप्रसारदेखि तालिमसम्म

मन्त्रालययले सडक सुरक्षाका लागि प्रचारप्रसार गर्नेदेखि विभिन्न तालिम समेत प्रदान गर्ने गरेको छ ।

मन्त्रालयले रोड क्र्यास इन्भेष्टिगेसन टे«निङ, सडक सुरक्षा सम्बन्धी प्रबद्र्धानात्मक कार्यक्रम संचालन, सडक सुरक्षा प्रयोगकर्ता निर्देशका छापेर वितरण गर्ने, सीप विकास तथा जनचेतना तालिक तथा गोष्ठी, पिलर ३ सुरक्षित सवारी : प्राविधिक जनशक्तिलाई भेहिकल फिटनेस टेष्ट सम्बन्धी तालिकम, पिलर ४ सुरक्षित सडक प्रयोकर्ता : रोड सेफ्टी युजर ट्रेनिङ कार्यक्रम संचालन गर्छ ।

त्यसैगरी, राष्ट्रिय राजमार्गहरूमा चालक तथा यात्रुलाई सिटबेल्ट बारे, रोड सेफ्टी, सडक सुरक्षा सम्बन्धी कार्टुन प्रकाशन, ट्राफिक सचेतनामूलक स्टीकर छपाइ, फर्स्ट रेस्पोन्डर ट्रेनिङ, इमरजेन्सी केडिकल ट्रेनिङ, बेसिक ट्रमा लाइफ सेभिङ ट्रेनिङ, पोष्ट क्र्यास रेसपोन्स ट्रेनिङ, पालिका संघको सहकार्यमा सडक सुरक्षा सम्बन्धी युवा लक्षित कार्यक्रम संचालन गर्ने गरेको छ ।

कानुनी व्यवस्था गरिँदै

सडक सुरक्षाका लागि हालसम्म नेपालमा कुनै विशेष कानुन बनेको छैन । सवारी साधनको दर्ता, सडक इजाजत, सवारी चालकको अनुमतिपत्र, यातायात व्यवस्थापन, आगमन नियन्त्रण, बीमा, सजाय सम्बन्धी व्यवस्थाका लागि ‘सवारी तथा यातायात व्यवस्था ऐन-२०४९’ छ । त्यस्तै, सडक व्यवस्थापन गर्न ‘ सार्वजनिक सडक ऐन २०३१’ छ ।

पछिल्लो समयमा नेपालमा सडक यातायात दुर्घटनाको घटना अत्यधिक बढ्दै गएपछि सरकारले सडक सुरक्षा नीति र ऐन ल्याउने तयारी थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक दुर्घटनाको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले ‘राष्ट्रिय सडक सुरक्षा ऐन २०८१’ को मस्यौदा बनाइसकेको छ । मन्त्रालयले उक्त मस्यौदा बारे मन्त्रालयहरूसँगै अन्य सरोकारवालाहरूसँग राय सुझाव माग गरेको सुझाव समेत मागेको छ । प्राप्त सुझावहरू समेटी चाँडै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने महाशाखा प्रमुख पन्थले बताए । त्यस्तै, मन्त्रालयले ‘राष्ट्रिय सडक सुरक्षा नीति’ को मस्यौदा बनाएको छ ।

प्रस्तावित विधेयकमा राष्ट्रिय सडक सुरक्षा परिषद्को स्थापना, सुरक्षित सडक संरचना विकास तथा निर्माण, सडकको प्रकृति अनुसारको यातायात सेवा संचालन, दुर्घटना स्थलमा मर्मत सम्भार, यातायात सेवा संचालनमा रोक लगाउन सक्ने, सडक सीमा भित्रका पूर्वाधार व्यवस्थापन, सवारी साधनको मापदण्ड तोक्ने, गति नियमन गर्ने, सडक दुर्घटनामा उद्धार तथा उपचार, बीमा, क्षतिपूर्ति लगायत सम्बन्धी व्यवस्थाहरू गरिएको छ ।


Back_to_top