काठमाडौं । एमजी इन्डियाले ‘विन्डसर’ सीयूभी सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको विन्डसर आगामी अक्टोबर ३ तारिखबाट बुकिङ लिनेगरी ग्लोवल प्रिमियमर गरेको हो ।
नयाँ विन्डसर ईभी एक्साइट, एजुकेटीभ र इसेन्स गरी तीन भेरियन्टमा उपलब्ध हुने जनाइएको छ । कम्पनीले दिएको जानकारी अनुसार नयाँ विन्डसर ईभी कालो, सेतो, बेजी र हरियो कलरमा उपलब्ध हुनेछ ।
साधारण डिजाइनमा उपलब्ध ठूलो कम्प्याक्ट युटिलिटि भेहिकलमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइटहरु एलइडी प्रयोग भएको छ । अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार भएको छ । यसमा १८ इन्चको अलोय ह्वील उपलब्ध छ ।

पेट्रोल कारको संचालन लागतलाई टक्कर दिन एमजी इन्डियाले अनौठो अफर गरेको छ । कम्पनीले पहिलो पटक ‘ब्याट्री-एज-अ-सर्भिस’ योजना सार्वजनिक गरेको छ । यस योजनामा गाडी किन्दा उपभोक्ताले प्रति किलोमिटर ३ रुपैयाँ ५० पैसा तिर्दा पुग्छ । यसमा ब्याट्रीमा आउने कुनै पनि समस्या उपभोक्ताले झेल्नु पर्दैन । कम्पनीले नै ब्याहोर्नेछ । त्यसैले यस स्कीमले पेट्रोल कारको तुलनामा ४० प्रतिशत रनिङ कष्ट घटाउने कम्पनीको दावी छ ।

कम्पनीले यसलाई लग्जरी बनाउन पछाडिको सिट १३५ डिग्रीसम्म डल्काउन सकिने गरी तयार गरेको छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन छ ।
वायरलेस चार्जर, अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
भारतमा ब्याट्री बाहेकको सुरुवाती मूल्य मात्रै घोषणा भएको कारण यसको बास्तविक मूल्य कति पर्छ अहिल्यै एकिन गर्न सकिएन । तथापी कम्पनीले १२/१३ लाख भारतीय रुपैयाँसम्ममा यसको बिक्री थाल्ने अनुमान गर्न सकिन्छ । भारतमा बिक्री सुरु भएपछि पारामाउन्ट मोटर्सले विन्डसर नेपाल ल्याउन सक्नेछ ।

