यस्तो रहने छ सहर र हाइवेमा एमजी विन्डसरको रेन्ज

काठमाडौं । एमजी इन्डियाले केही महिना अगाडि बिक्री सुरु गरेको नयाँ ह्याचव्याक कार विन्डसरले अहिले भारतमा राम्रो बिक्री पाइरहेको छ । विन्डसर ईभीकै सहायताले एमजी भारतमा सबैभन्दा ठूलो ईभी निर्माता बन्ने दौडमा देखिन्छ ।

भारतमा उत्पादन हुने विद्युतीय साधनको रेन्ज एआरएआईले प्रमाणित गर्दै आएको छ । तर, एआरएआई रेन्जलाई नै दावी गरेर गाडी बेच्दा धेरै कम्पनीले उपभोक्ताको गाली खानु परेको कारण अहिले कम्पनीले नै रियल वर्ल्ड रेन्ज मापन गर्न थालेका छन् ।

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । तर, रियल वर्ल्ड टेष्टमा भने फरक रेन्ज देखिएको हो ।

भारतीय मिडिया अटोकारले प्रकाशित गरेको डाटा अनुसार विन्डसर ईभीले हाइवेमा २८९ र सहरी क्षेत्रमा ३२७ किलोमिटर रेन्ज दिने उल्लेख छ । गाडी कस्तो बाटोमा चलाएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । तर, गाडीमा टायर प्रेसर ३६ पीएसआई राखेर निश्चित स्पीडमा गाडी चलाएको उल्लेख गरेको छ ।

ठूलो कम्प्याक्ट युटिलिटि भेहिकलमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइटहरु एलइडी प्रयोग भएको छ । अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार भएको छ । यसमा १८ इन्चको अलोय ह्वील उपलब्ध छ ।

कम्पनीले यसलाई लग्जरी बनाउन पछाडिको सिट १३५ डिग्रीसम्म डल्काउन सकिने गरी तयार गरेको छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन छ ।

वायरलेस चार्जर, अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।


Back_to_top