नेक्सनलाई टक्कर दिने मूल्यमा आउँदै एमजी जेडएस ईभी

काठमाडौं । एमजी जेडएस ईभीको स्टायडर्ड रेन्ज दिने मोडल पनि दुई भेरियन्टमा नेपाल आउने भएको छ । पारामाउन्ट मोटर्सले केही दिन भित्रै बुकिङ खुल्ला गर्न लागेको जेडएस ईभी दुई भेरियन्टमा आउन लागेको हो ।

गतवर्ष फागुन १५ गते पारामाउन्ट मोटर्सले स्टायडर्ड र लङ रेन्ज गरी दुई मोडल बजारमा सार्वजनिक गरेको थियो । ग्राहकले ५०० यूनिट हाराहारी बुकिङ गरेर बसेपनि सरकारले चालु आर्थिक वर्षको बजेटबाट भन्सार बढाउनुको साथै अन्तःशुल्क लगाएपछि गाडीको आयात भएको थिएन ।

पारामाउन्ट मोटर्सले केही दिनअघि नै लङ रेन्ज मोडलको विक्री सुरु गरेको छ । ८१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर लङ रेन्ज जेडएस ईभी विक्री गरेको हो । कम्पनीले अबभने स्टायडर्ड भेरियन्टको बुकिङ खुल्ला गर्न लागेको हो ।

‘हामीले स्टायडर्ड मोडललाई दुई भेरियन्टमा नेपाल ल्याउन लागेका छौं । मोटर, ब्याट्री, पावर, सुरक्षा र इन्फर्मेशन टेक्नोलोजी समान हुने दुई मोडलमा शनरुफ र सिटमा भने फरक हुनेछ । त्यो बाहेक सबै फिचर एउटै हो’, पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।

दुबै भेरियन्टको मूल्यको सम्बन्धमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन । तर, यी दुई भेरियन्टमा कम्तीमा ३ देखि ४ लाख रुपैयाँको मूल्य अन्तर हुने अनुमान गर्न सकिन्छ । जसमा एउटाको मूल्य ५० लाखभन्दा कम र अर्कोको मूल्य ५० लाखमाथि रहने हाम्रो अनुमान छ ।

नेपालमा सर्वाधिक सफल एमजीको सुरुवाती भेरियन्टले टाटा नेक्सन ईभीको टप भेरियन्टलाई टक्कर दिने अनुमान गर्न सकिन्छ । एमजी जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।


Back_to_top