मोटरसाइकलको व्यापार बढ्दै, ईभीको विक्रीमा नयाँ रेकर्ड

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनले सवारीसाधनको विक्रीमा आएको उच्च गिरावटमा केही सुधारका संकेत देखिन थालेका छन् । विगत १५ महिनादेखि निरन्तर ओरालो लागेको दुईपाङ्ग्रे सवारीसाधनको विक्री फागुनदेखि भने केही बढ्न थालेको हो ।

सन् २०२१ मा औषत दैनिक १ हजार यूनिट मोटरसाइकल विक्री भएकोमा सन् २०२२ मा त्यो संख्या घटेर ३०० यूनिट हाराहारीमा खुम्चेको थियो । अहिले त्यो संख्या बढेर मासिक ५०० यूनिटभन्दा माथि पुगेको छ । विगतमा धेरै ठूलो परिणाममा मोटरसाइकल स्टकमा रहेको कारण अहिले पनि आयात भने बढ्न सकेको छैन ।

‘मोटरसाइकलको विक्रीमा केही सकारात्मक प्रभाव देखिएको छ । तर, पहिलेकै अवस्थामा पुग्ने अवस्था छैन । अहिलेको सुधार क्रमिक रूपमा बढ्ने हो भने केही आशा गर्ने ठाँउ देखिन्छ,’ यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले मेरोअटोसँग भने ।

उक्त कुरालाई बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘केही राम्रा लक्ष्यण देखिएका छन् । तर, जुन किसिमको बजारमा समस्या छ, त्यसले मनोवल उच्च बनाउने ठाँउ भने छैन ।’

अहिले बजारमा सबैभन्दा धेरै साधन विक्री गर्ने कम्पनीहरू बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो जस्ता सबै ब्राण्डको विक्रीमा सुधार देखिएको छ । नयाँ वर्ष नजिक आउँदै गरेको समयमा देखिएको सकारात्मक लक्ष्यणले कम्पनीहरू उत्साहित छन् ।

ईभीमा केही उत्साह आउँदै

विद्युतीय कार र दुईपाङ्ग्रे दुवै साधनमा केही सकारात्मक प्रभाव देखिन्छ । विद्युतीय साधनमा बैंक तथा वित्तीय संस्थाले केही सहज तरिकाले कर्जा प्रदान गर्ने भएको कारण ईभीको विक्री बढेको हो । पछिल्लो ७ महिनाको विद्युतीय साधनको आयात निकै उत्साहित बनाउने किसिमको छ ।

विगत ७ महिनामा २ हजार १९८ यूनिट विद्युतीय कार आयात हुँदा ५ हजार ८४९ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ । इलेक्ट्रीक तीनपाङ्ग्रे सवारीसाधनको आयात पनि राम्रो देखिन्छ । यो ७ महिनाको अवधिमा ४ हजार ९०१ यूनिट तीन पाङ्ग्रे अटो रिक्सा आयात भएको छ ।

सार्वजनिक यातायातको रूपमा प्रयोग भएका ११ सिट क्षमताका १४८ यूनिट विद्युतीय माइक्रोबस नेपाल आएका छन् । यसले समग्र विद्युतीय साधनको प्रयोग बढ्दै गएको देखिन्छ ।

पूर्ण सुधार हुन समय लाग्ने

विगत १५ महिनादेखि बजारमा देखिएको ब्याजदरको समस्या, लगानी योग्य रकमको अभाव र मानिसको आर्थिक गतिविधिमा देखिएको समस्याको कारण कुनै पनि किसिमको सवारीसाधनको विक्री राम्रो हुन सकेको थिएन । अब विस्तारै अर्थतन्त्रमा सुधार देखिएको र त्यसको प्रभाव व्यापारमा पनि देखिन थालेको विज्ञहरूको भनाइ छ ।

‘अहिलेको समस्या पूर्णरूपमा समाधान हुन अझै २ वर्ष लाग्न सक्छ । तर, जुन किसिमले सुधारका संकेत देखिएका छन्, त्यसलाई आधार मान्दा अब राम्रा दिन सुरू हुने चरणमा छन्,’ पूर्व अर्थसचिव शिशिर ढुङ्गानाले भने ।

समग्रमा बजारमा केही सकारात्मक भिन्नता देखिन थाले पनि पूर्ण सुधार हुन समय लाग्ने छ । तथापि, अटोमोबाइल क्षेत्रको लागि सबैभन्दा खराब समय गुज्रिएको धेरैले चर्चा गर्न थालेका छन् ।

 


Back_to_top