४ वर्ष पुरानो एमजी जेडएस ईभी चढेर साउनमा हलेसी दर्शनमा जाँदा

काठमाडौं । साउन चिर निन्द्रामा सुतेका महादेवलाई जगाउन ब्रत बस्ने र पूजा आरधना गर्ने महिना हो । धेरै पानी पर्ने खोलानाला बढ्ने र बाढी पहिरोको जोखिम हुने महिनाको रूपमा पनि परिचित छ । एउटा साथीले महादेव मन्दिर दर्शन गर्ने प्रस्ताव राखे । मैले फ्याट्टै भने पशुपति नाथ जाउँ न त ।

साथीले भन्यो, ‘होइन अलि टाढै जाऔं । भगवानको दर्शन अलिकति परिश्रम गरेर गर्दा राम्रो हुन्छ भन्छन् ।’ उसले इलेक्ट्रीक कारमा यात्रा गर्ने प्रस्ताव गरेपछि मैले गुगल म्यापमा गाडीको रेन्जले भ्याउने मन्दिर खोजे ।

गुगलको पहिलो सजेशन नै खोटाङको हलेसी महादेव देखियो । काठमाडौंबाट २२० किलोमिटरको दूरीमा रहेको हलेसी महादेश यात्रामा जान साथीको ‘जिद’ सुरु भयो । यसअघि उ हलेसी गएकै थिएन । म चाहिँ एक पटक गएको थिएँ, तर अरूले नै चलाएको स्कर्पियोमा । त्यति बेला बाटो राम्रै जस्तो लागेको थियो ।

हामीले हलेसी जाने गाडी थियो, एमजीले पहिलो पटक नेपाल ल्याएको जेडएस ईभी सम्भवत २०१९ को सुरूवातमा नै नेपाल आएको पहिलो यूनिट । ४* वर्ष सडकमा चलिसकेको जेडएस ईभी लिएर हामी हलेसी यात्रामा जाने निधो भयो ।

हाम्रा अगाडि दुई चुनौती थिए । पहिलो वर्षाको बाटो कस्तो होला भन्ने, दोस्रो हलेसीको होटलमा चार्जिङ सुविधा पाइन्छ वा पाइन्न भन्ने । त्यहाँ बस्ने होटल खोज्दा हलेसुङ रिसोर्ट छनोट भयो । होटलमा कल गरेर गाडी चार्जको सुविधाकाे बारेमा बुझदा होटलमा ३ वटा डेडिकेटेड चार्जिङ पोइन्ट रहेको जानकारी पायौं ।

चार्जिङको समस्या दूर भएसँगै हामी जाने निधो भयो । सोमबार महादेवको दर्शन राम्रो हुने भन्दै आइतबार हलेसी जान हिड्यौँ । बिहानै करिब ११:३० बजे हामी काठमाडौंबाट हिँडेका थियौं ।

काठमाडौंबाट धुलिखेलसम्म एसीको प्रयोग भयो । त्यसपछि हलुका पानी परिरहेको थियो । एसी बन्द गरी झ्याल खोलेर अघि बढियो । एमजीको चार्जर मूलकोटको अक्षित वीच रिसोर्टमा थियो । त्यसदिन बिजुली सप्लाइमा समस्या रहेछ ।

मूलकोट पुग्दा गाडीमा १६ प्रतिशत चार्ज मात्रै चार्ज खर्च भएको थियो । त्यहाँबाट १२० किलोमिटर यात्रा बाँकी थियो । त्यसकारण मूलकोटमा चार्ज गर्ने तिर लागेनौं ।

अगाडि बढ्दै जाँदा खुर्कोट, घुर्मी, हिलेपानी, जयरामघाट हुँदै जानु पर्छ । केही महिना अघि त्यही बाटो हिँड्दा घुर्मी आइपुग्नु अगाडि खोलाबाटै गाडी पार गराएको याद आइरहेको थियो । वर्षाको समय भएको कारण मनमा थोरै डर थियो । खोला ठूलो पो छ कि भन्ने । तर, हिउँदको जस्तै वर्षामा पनि त्यो खहरेमा पानी थिएन ।

वर्षा भएपनि बाटो खासै बिग्रिएको रहेन छ । कहि कतै अलि अलि पानी जमेको तथा पहिरोले बिगारेको पिच भने धेरै ठाँउमा भेटियो । हिलेपानीबाट २ वटा बाटो आउँछ । माथि लागे ओखलढुङ्गा हुँदै शोलुखुम्बु तल लागे जयराम घाट हुँदै खोटाङ, भोजपूर जाने बाटो । हामी लाग्यो तल्लोबाटो ।

जयराम घाटबाट अगाडि बढेपछि भने बाटो साँघुरो रहेछ । साथै उकलो बाटोमा धेरै स्थानमा पिच फुटेर प्वाल नै प्वाल । अब हाम्रो स्पीड घटिहाल्यो । बाटोमा एसी नचलाएता पनि बाटोको कण्डिसन तथा उकालै उकालोको कारण हाम्रो गाडी ब्याट्री चार्ज छिटो छिटो घटिरहेको थियो ।

करिब ३० किलोमिटरको बाटो काट्न निकै कठिन महसुस भयो । होटल पुग्नु करिब ७ किलोमिटर बाँकी छँदै ड्यासबोर्डमा ब्याट्री रिचार्जको वार्निङ आउन थाल्यो ।

गाडीमा २० प्रतिशत चार्ज बाँकी रहँदा यस्तो वार्निङ आउँछ, भन्ने थाहा थियो । तर, निरन्तरको उकालोले गर्दा पूरै चार्ज पो सकिने हो कि भन्ने मनमा चिसो पस्न थाल्यो । विस्तारै सकेसम्म कम एक्सिलरेसन गर्दै अगाडि बढियो ।

मुख्य हाइवेबाट हाम्रो बुकिङ भएको हलेसुङ होटेलमा पुग्न करिब १ किलोमिटर अझै कच्ची बाटो रहेछ । उक्त बाटो केही दिनदेखिको वर्षाले निकै बिग्रेको रहेछ । कठिन यात्रा गर्दै अन्त्यमा होटल पुगियो ।

होटल भने निकै राम्रो रहेछ । २८ वटा कोठा, रेष्टुरेन्ट तथा छुट्टै मिटिङ तथा पार्टी हल समेत रहेको उक्त होटेल सो क्षेत्रकै सबैभन्दा राम्रो प्रोपर्टी रहेको होटलका अप्रेशन मेनेजर प्रदीप जोशीले बताए । होटलको ठीक अगाडि नै स्थापना गरेको सबमिटर सहितको ३ वटा चार्जिङ पोइन्टले ईभी आउजाउ बाक्लै रहेको पुष्टी भयो ।

हामीले १४ प्रतिशत चार्ज बाँकी रहेको गाडी चार्जमा जोड्यौं । जोशीसँग गफियौँ । हलेसीकाे उक्त हाेटलमा ईभीमा जाँदा चार्जिङको समस्या रहेन छ । ५० केभीएको ट्रान्फरमसहितको चार्जिङ प्वइन्ट त्यहाँ पाउन सकिन्छ । रातभर बिजुली नआए होटलसँग ठूलो जेनेरेटर समेत रहेछ ।

चार वर्षभन्दा पुरानो, त्यसमा पनि अहिले बजारमा रहेको जेडएसईभी भन्दा सानो ब्याट्री भएको एसयूभी काठमाडौंबाट बीचमा रिचार्ज नै नगरी सिधै हलेसी पुग्न सक्नु मेरा लागि निकै रोमान्चित थियो । मैले नेपालको धेरै बाटाहरूमा धेरै पटक ईभी चलाएको अनुभव भएकाले यो प्रयास गरेको थिए । तर, ड्यासबोर्डमा ‘रेन्ज टु एम्पटी’ जतिसुकै देखाए तापनि पहाडी बाटोमा भर हुँदैन भन्ने ज्ञान थियो ।

गाडीलाई ओरालोमा गुडाउँदा कुन लेबलमा रिजेनेरेट गर्ने हो, त्यसको अनुभव हुन जरुरी छ । कच्ची बाटोमा जसैगरी चलाएता पनि तल कहिले काहीँ छोइहाल्छ । गाडीको तल रहने ब्याट्री प्याकको प्रोटेक्सन एकदमै राम्रो तथा आइपी ६७ लेवलको वाटरप्रुफ हुने भएकोले डराइहाल्नु भने पर्दैन । तर, सकेसम्म स्पीडमा भने ठोकिन दिन हुँदैन ।

रातभरी चार्जमा राख्दा हाम्रो गाडी ८० प्रतिशत मात्र चार्ज भएको थियो । फुल चार्ज हुनु पर्ने त हो तर राती ३/४ घण्टा बिजुली गएकाले पूरै रिचार्ज भएन । सोमबार विहान हलेसी महादेवको दर्शन गरिवरी होटलमा ब्रेकफास्ट गरेर ११:३० बजे काठमाडौंका लागि निस्कियौँ । जयरामघाटसम्म बाटो पूरै ओरालो रहेकाले कुनै डर थिएन । हलेसीबाट मूलकोट करिब १२० किलोमिटर फर्कँदा हाम्रो गाडीको ब्याट्रीमा अझै ६० प्रतिशत चार्ज बाँकी थियो । त्यही बाटो मूलकोटबाट हलेसी जाँदा करिब ७० प्रतिशत खर्च भएको थियो ।

हामीले मूलकाटमा भने चार्ज गर्ने योजना बनायौँ । मूलकोटबाट काठमाडौं आउँदा धेरै उकालो पर्ने भएकाले र फेरि रात पर्ने सम्भावनाले अलि स्पीड पनि बढाउन जरुरी थियो । रात पर्यौ भने भकुण्डबेँसीबाट ढुङ्गा बालुवाका ट्रकले बाटो नै दिँदैनन् । मूलकोटमा सोमबार फर्कँदा भने एमजीको डीसी फास्ट चार्जरमा बिजुली सप्लाइ बनिसकेकोले छिटो रिचार्ज भयो । ९० प्रतिशत रिचार्ज भएपछि हामी काठमाडौं हिँड्यौँ ।

*सच्याइएकाे (सम्पादक)

 


Back_to_top