एमजी-४ इलेक्ट्रीक क्रसओभर नेपालमा (फोटो-फिचर)

काठमाडौं । पारामाउन्ट मोटर्सले एमजी-४ नेपाल ल्याएको छ । केही दिनअघि रसुवागढी भन्सार नाकामा देखिएको एमजी–४ काठमाडौं आइपुगेको हो ।

बेलायतमा बिक्री हुँदै आएको १५० किलोवाट क्षमताको मोटर र ६४ किलोवाट आवरको ब्याट्री जडान भएको एमजी–४ नेपाल आइपुगेको छ । कम्पनीले चाँडै यसको टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।

‘हामी टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने छौं । तत्काल मूल्य घोषणा हुँदैन । हामी बिस्तारै बुकिङ खुल्ला गर्छौ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले अहिले १५० किलोवाटको मोटर जडान भएको एमजी-४ नेपाल ल्याएको भएपनि बिक्रीको लागि ९९ किलोवाट क्षमताको मोटरमा ल्याउने छ । जुन जेडएस ईभीमा सफल प्रयोग भइसकेको छ । साथै, ब्याट्री साइज पनि ५१ किलोवाट आवरमा आउने छ ।

एसएआइसीको ‘मोड्युलर स्केलेबल प्लेटफर्म’मा आधारित रहेर निर्माण गरिएको एमजी-४ इलेक्ट्रीक क्रसओभर मोडल हो । निकै स्मुद ड्राइभिङ अनुभव गराउने एमजी फोर सहरमा निकै गज्जवको अनुभव प्रदान गराउन सक्षम छ ।

पारामाउन्ट मोटर्सले एमजी-४ को हाई भेरियन्ट पनि नेपालमा बिक्री गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार यसमा रहेको सानो ब्याट्री प्याक भेरियन्टले ३५० किलोमिटर र ठूलो ब्याट्री भएकोले ४५२ किलोमिटर रेन्ज प्रदान गर्छ । टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको एमजी-४ ले १५० किलोवाटसम्मको डिसी चार्ज सपोर्ट गर्नेछ ।

स्पोर्टी लुक्स रहेको एमजी-४ को डिजाइन निकै आकर्षक छ । यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलइडी टेल ल्याम्पहरूले थप आकर्षक बनाएको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

एमजीले यो क्रसओभरमा धेरै स्पेश निकाल्न र आरामदायी बनाउन २७०५ एमएम लामो ह्वीलबेस दिएको छ । यसको लम्बाई ४.२ मिटरभन्दा केही बढी छ । कम्पनीले यसमा एङ्गुलर हेडल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेट दिएको छ ।

यो कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।


Back_to_top