काठमाडौं । नाडा अटो शो २०२३ आउन एक महिनाभन्दा कम समय बाँकी छ । आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा करिब एक दर्जन ब्राण्डले आफ्नो कारहरु प्रदर्शनी गर्ने भएका हुन् ।
यस वर्षसबैभन्दा धेरै नयाँ कार प्रदर्शनी गर्ने ब्राण्डमा टाटा, एमजी, बीवाइडी र सुजुकी हुनेछन् । यी सबै ब्राण्डले कम्तीमा आफ्नो दुई/दुई मोडल प्रदर्शनीमा राख्ने तयारी गरेका छन् ।
यसका अलावा हुन्डाई, मेक्सस, महिन्द्रा र कियाले एक/एक ‘अल न्यू मोडल’ देखाउने तयारी गरेका छन् । यी ८ ब्राण्डले १२ नयाँ मोडल प्रदर्शनी गर्ने भएका हुन् ।
मेलामा सहभागी ग्रेटवाल मोटर्स, निसान मोटर्स, फोर्ड र सिट्रोनसँग भने अहिले बिक्री गर्दै आएको चल्तीको मोडल हुनेछ । उनहरुले नयाँ मोडलभन्दा उत्कृष्ट भेरियन्टहरु ल्याउने जनाएका छन् ।

इलेक्ट्रीकमा प्रतिस्पर्धा
अटो शोमा सहभागि हुने एमजी, बीवाइडी, मेक्सस, किया, महिन्द्रा र टाटाले इलेक्ट्रीकमा नयाँ मोडल प्रदर्शनी गर्नेछन् ।
एमजीले एमजी-४ क्रसओभर, बीवाइडीले डल्फीन, मेक्ससको मिफा–९, महिन्द्राको एक्सयूभी ४००, किया ईभी-६ र टाटाले टियागो मोडल प्रदर्शनी गर्नेछन् । यी सबै नेपालमा नयाँ आएका मोडल हुनेछन् । यसका अलावा बीवाइडी सिल र एमजी कोमेट पनि इलेक्ट्रीक कारको रुपमा अटो शोमा रहने छन् ।

समग्रमा मेलामा विभिन्न ब्राण्डका ८ नयाँ मोडलका ईभी सार्वजनिक हुनेछन् । साथै, मेलामा निसान लिफ, हुन्डाई आयोनीक-५, कोना इलेक्ट्रीक, बीवाइडी एटो-३, एमजी जेडएस, ओरा-०३, टाटा नेक्सन जस्ता बजारमा उपलब्ध मोडल पनि प्रदर्शनीमा रहने छन् ।
इन्टरनल कम्बस्चनमा निकै कम नयाँ मोडल
इन्टरनल कम्बस्चन इन्जिन भएका कारको चर्चा विस्तारै कम भइरहेको समयमा मारुती सुजुकीले आफ्नो दुई नयाँ मोडल जिम्नी र फ्रोङ्क्स सार्वजनिक गर्नेछ । यसका अलावा टाटा पन्च माइक्रो एसयूभी देखाउँदा हुन्डाईले एक्सटर माइक्रो एसयूभी प्रदर्शनी गर्नेछ ।

अहिले नै नेपाल आएर बुकिङ सुरु भएको जिम्नी र फ्रोङ्क्सको अलावा पन्च र एक्सटर पूर्ण नयाँ मोडल हुनेछन् ।
केही महिना अघि बजार प्रबेश गरेका महिन्द्रा स्कर्पियो एन र एक्सयूभी ७०० अटो शोमा रहने छन् । हुन्डाई क्रेटा र भेन्यू, किया सेल्टोस र सोनेट पनि अटो शोमा रहने मोडल हुन् । यी सबै बजारमा खरिद बिक्री भइरहेका मोडल हुन् ।

