काठमाडौं । स्पोर्टी ह्याचव्याक सेग्मेन्टमा लङ रेन्ज एमजी फोर १०० किलोवाट क्षमताको मोटर पावरमा आएसँगै यसले बजारमा नयाँ ठाँउ बनाउने देखिएको छ । मूल्य ४९ लाख ९९ हजार रुपैयाँ भएको र सबै किसिमका आनुधिक फिचरहरुले भरिपूर्ण रहेको कारण यसले राम्रो बजार पाउने आँकलन गर्न सकिन्छ ।
सम्भवत ब्याट्री साइज, गाडीको साइज, फिचर र डिजाइनको आधारमा एमजी फोरले एक उत्कृष्ट मोडल हुन सक्छ । यसअघि लङ रेन्ज मोडलमा १५० किलोवाट पीक पावरमा थियो । त्यसलाई कम्पनीले ५८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको थियो । नयाँ मोडल त्यसको तुलनामा ९ लाख रुपैयाँ सस्तो छ । पावर बाहेक अरु सबै फिचर समान पाउन सकिन्छ ।
एमजीले लङ रेन्ज मोडलमा ६४ किलोवाट आवरको ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ४५२ किलोमिटर रेन्ज प्रदान गर्नेछ । यसको टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा छ ।
एमजी-फोरमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडास लगायतका फिचर छन् ।

यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलइडी टेल ल्याम्पहरूले थप आकर्षक बनाएको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।
२० प्रतिशत डाउन पेमेन्ट र मासिक किस्ता
विद्युतीय कार किन्दा २० प्रतिशत डाउन पेमेन्ट भए पुग्छ । बाँकी रकम बैंकबाट कर्जा सुविधा पाउन सकिन्छ । बैंकहरुले ईभीमा पनि ७ वर्षे अवधिको कर्जा प्रबाह गरिरहेका छन् ।
यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । त्यसको २० प्रतिशतले हुन आउने ९ लाख ९९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । त्यसपछि बाँकी रकम ३९ लाख ९९ हजार २०० रुपैयाँ कर्जा लिन सकिन्छ ।
यसरी लिएको कर्जामा अहिले बैंकहरुले १० प्रतिशत ब्याज लिइरहेका छन् । कर्जा सुविधा ७ वर्षको लागि पाइने भएको कारण ८४ महिनासम्म मासिक ६६ हजार ४०० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ ।


