काठमाडौं । एक करोड ९ लाख मूल्य पर्ने एसयूभी नेपाली बजारमा उपलब्ध भएको छ । चिनियाँ ब्राण्ड स्काइवेलको एसयूभी इटी-५ काठमाडौं आइपुगेको हो ।
भदौमा नै आधिकारीक बिक्रेता जी मोटर्सले एक कार्यक्रम गरेर स्काइवेलको एसयूभी इटी-५ नेपाल ल्याउने घोषणा गरेको थियो । कम्पनीले नाडा अटो शो २०२३ मा नै प्रर्दशन गर्ने भनेपनि केही ढिलोगरी आएको हो ।
कम्पनीले अहिले आफ्नो भक्तपुर राधेराधे, नक्साल, इटहरी र बिराटनगरमा रहेका शोरुमहरुमा इटी-५ उपलब्ध गराएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले आफ्नो शोसल मिडियामा लेखेर जानकारी दिएका हुन् ।
जी मोटर्सको दावी अनुसार कम्पनीले ल्याएको एसयूभी नेपाली बजारमा उपलब्ध अहिलेसम्मकै सर्वाधिक धेरै रेन्ज भएको मोडल हो । यसमा ८५.९ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ६२० किलोमिटर रेन्ज पाइने कम्पनीको दावी छ ।
१५० किलोवाट क्षमताको पीकपावर प्रदान गर्ने मोटर जडान भएको इटी-५ एसयूभी प्योर ईभी प्लेटफर्ममा बनेको हो । यसमा एडास सहितको धेरै आधुनिक सुरक्षा फिचर छन् ।
शोरुमहरुमा पुगिसकेको कारण कम्पनीले यसको टेष्ट ड्राइभ पनि सुरु भएको जनाएको छ ।


