सिन्धुली । सिन्धुलीको भिमानबाट चतरा जाने बाटोमा एमजी एस-५ लाई करिब १०० किलोमिटर टेस्ट ड्राइभ गरेसँगै यसमा रहेका केही फिचरले तान्यो । चुरेको फेदमा बनेको विविधता पूर्ण बाटोमा गाडी चलाउँदा सधैं मज्जा आउँछ ।
एमजीको एस-५ क्रसओभर मोडल हो । तर, यसको पर्फर्मेन्स निकै उत्कृष्ट छ । विगतमा एमजीले बिक्री गरेको जेडएस ईभी र एमजी-४ को तुलनमा एस-५ ‘नेक्स्ट लेबल’ छ भन्न हिचकिचाउनु पर्दैन ।
हाइवे ड्राइभमा १७६ किलोमिटर प्रतिघण्टाको स्पीड सहजै भेट्टाएको एस-५ मा रहेको ९९ किलोवाटको मोटर गज्जबकै ट्युनिङ भएको छ । ३२० न्युटन मिटर टर्कले पावरमा सम्झौता गरेको पाइन्न ।
क्रसओभर डिजाइन, प्योर ईभी प्लेटफर्म, मिनिमल डिजाइनमा तयार भएको क्याबिन र थ्री स्पोक स्टेरिङ ह्वील अहिलेलाई आकर्षण हो । भोलिको दिनमा कम्पनीले मोबाइल एप पनि दिने भनेको छ । उक्त एपसँगै एस-५ पूर्ण फिचर भएको क्रसओभर बन्नेछ ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आयोजना गरेको मिडिया ड्राइभपछि यसमा भएको तीन फिचरको कारण प्रतिस्पर्धी माथि एस-५ भारी पर्ने अनुमान गर्न सकिन्छ ।
१. फ्ल्याट क्याबिन : एमजीले यसमा निकै पातलो साइजको ब्याट्री दिएको छ । जसको कारण यसको क्याबिन स्पेसमा निकै ठूलो परिवर्तन पाउन सकिन्छ । एथेष्ट हेडरुम, पछाडि लेगरुम र फ्ल्याट फ्लोरको कारण यसले भित्री साइजमा प्रतिस्पर्धीलाई राम्रै टक्कर दिनेछ ।

२. पावर र सस्पेन्सन : एस-५ को सबैभन्दा बलियो पक्ष मध्येको एक हो यसको रियर ह्वील ड्राइभ मोटर । सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटर भएको कारमा पावर एथेष्ट छ । ८ सेकेण्डको आसपासमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउने कारमा ३२० एनएम टर्क जेनेरेट हुन्छ ।
इन्डिपेन्डेन्ट सस्पेन्स भएको कारणले खराब लाग्ने बाटोमा पनि उत्कृष्ट पर्फर्मेन्स गर्छ । अझ तीव्र गतिमा पनि स्टेबल लाग्ने बडी डिजाइन र १८० एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले प्रयोगकर्तालाई लोभ्याउँछ ।

३. समय बिताउन सजिलो : आजकल ईभी चढ्नेको सबैभन्दा सकस चार्जिङको समय कसरी कटाउने भन्ने हो । यसमा फोरजी कनेक्ट गरेर इन्ब्यूल्यट युट्युब, टिकटक र स्पोर्टीफाई चलाउन सकिन्छ । थ्रिएटरको जस्तो साउण्ड सिस्टम भएको कारण जे चलाएर पनि चालकले समय कटाउन सक्छन् ।
मथि, उल्लेख भएका बाहेक पनि धेरै कुरा यसमा उपलब्ध छ । ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित बजारमा आउने एमजी एस-५ को बजारमा क्रेटा ईभी, बीवाइडी एटो-थ्री, प्रोटोन इमास-७, टाटा कर्भ जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा हुनेछ ।

