कम मूल्यमा उत्कृष्ट हुन सक्ने एडभेञ्चर बाइक : MH 200

काठमाडौं । युवावर्गलाई लक्षित गर्दै चिनीयाँ मोटरसाइकल कम्पनी मोटरहेडले उत्पादन गरेको २०० सीसी क्षमताको एडभेञ्चर मोटरसाइकल ‘एमएच २००’ नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।

एसएलआर टेक्नोस् एण्ड ट्रेडले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको यो मोटरसाइकल खासै चर्चामा नरहेता पनि कम मूल्यमा पाउन सकिने उत्कृष्ट एडभेञ्चर मोटरसाइकल हो ।

कम्पनीले यसमा १९९ सीसी क्षमताको एयरकुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १६ बीएच पावरको साथै, ६५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्ने कम्पनीले दाबी गरेको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

‘अहिले युवाको रोजाईमा एडभेञ्चर मोटरसाइकल पर्ने गरेको छ । हामीले कम मूल्यमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउँदै आएका छौं’, कम्पनीका मार्केटिङ मेनेजर सायमण्ड रसाइलीले मेरोअटोसँग भने ।

यो मोटरसाइकलले उत्कृष्ट माइलेज दिने कम्पनीले दाबी गरेको छ । कम्पनीको दाबी अनुसार यसले प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्नेछ । यसमा १२ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

यो मोटरसाइकलको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टाका दरले कुद्न सक्ने यो मोटरसाइकल अफरोडको लागि उपयूक्त बनाउन २६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

मोडरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन दुबै चक्कामा हाइड्रोलिक डिस्क ब्रेक दिइएको मोटरसाइकलमा आरामदायी यात्राको लागि अगाडि इन्भर्टेड र पछाडि मोनोशक, स्पीङ ६० सिमेन आयल डम्पर सस्पेन्सन दिइएको छ ।

एलइडी हेडलाईट रहेको यस मोटरसाइकलमा ओडोमिटर, टेकोमिटर र स्पीडो मिटर डिजिटल रहेको छ । हेर्दा निकै इस्टाइलिस देखिने यो एडभेञ्चर मोटरसाइकल मूल्य ३ लाख ७२ हजार रुपैयाँ मूल्य तोकेर बिक्री वितरण हुँदै आएको छ ।

अहिले यो मोटरसाइकल किन्ने ग्राहकले नगद ५ हजार छुट पाउने मार्केटिङ हेड रसाइलीले जानकारी दिए । उनका अनुसार नगदको अलावा एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर र एउटा हेल्मेट कम्पनीले दिने छ ।


Back_to_top